नीतिगत त्रुटिका कारण शिक्षा र स्वास्थको अवस्था खस्किदैँ: प्रभु साह



रौतहट। संघीय सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले जनताको मौलिक अधिकारभित्र पर्ने शिक्षा र स्वास्थ्य सेवालाई ब्यवस्थित गर्ने दायित्व राज्यको रहेको बताउँदै राज्यको नीतिगत त्रुटिका कारण जिल्लाको शिक्षा र स्वास्थको अवस्था खस्किदैँ गएको दावी गरेका छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन मूल्यांकन समितिद्वारा रौतहटको मावि भसेढवामा आयोजित शिक्षाको अवस्थाबारे अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले उक्त दाबी गरेका हुन्।

समितिका सदस्य समेत रहेका उनले शिक्षक दरबन्दी वितरणमा धेरै ठूलो बेइमानी भएको आरोप लगाउँदै सरकारले विनियोजित बजेटको आधा पनि दिन नसकेकाले रौतहटको शिक्षा तथा स्वास्थ्य सेवा कमजोर हुँदै गएको बताए।

भौतिक पूर्वाधार तथा शिक्षक दरबन्दी वितरणमा राज्यको नीतिगत त्रुटिका कारण कतै दरबन्दी र पूर्वाधार फालाफाल हुने तर रौतहटमा सिंगो माध्यामिक विद्यालय प्रावि शिक्षकको भरमा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको साहको आरोप छ।

जिल्लाको अधिकांश स्थानमा झोले विद्यालय र विभिन्न दरबन्दीमा पहुँचका आधारमा आफ्ना नातागोताका मानिसलाई भर्ना गरेको कारण पनि रौतहटको शिक्षाको स्तर खस्केको उनले बताए।

पढाइमा राम्रो हुने छोराछोरीलाई डाक्टर, ईन्जिनियर बनाउने र कमजोर रहेकालाई दुईकठ्ठा जग्गा दिएर विद्यालय खोलेर शिक्षक बनाउने परम्पराका कारण शिक्षाको यस्तो अवस्था आएको उनको भनाइ छ। समितिका सभापति निरादेवी जैरुले शिक्षा र स्वास्थ्यको देशभरीको अवस्था बुझ्न स्थलगत अनुगमनमा आएको बताइन्।

रातो पाटीका अनुसार नेपालमा पहलो पटक गठन यो समितिले यहाँबाट आएको सुझाव तथा सूचना जस्ताको त्यस्तै लग्ने र सरकारलाई बुझाउने, सरकारले ल्याउने वार्षिक रिपोर्टमा थप सुझावसहितको प्रतिवेदन सदनमा पेस गर्ने बताइन्। कार्यक्रममा कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले नगरक्षेत्र भित्र ३ मावि, ७ निमावि, १५ प्रावि रहेकोमा ती विद्यालयहरुमा भौतिक पूर्वाधारको अभावसँगै शिक्षक दरबन्दी पनि न्यून रहेको बताए।

तीनवटा माविमा कुल ४७ जना शिक्षक दरबन्दी हुनुपर्नेमा सातजना शिक्षकमात्र रहेको, निमावितर्फ ४७ दरबन्दी हुनपर्नेमा सातजना शिक्षक र प्रावितर्फ एकसय १४ वटा दरबन्दी हुनुपर्नेमा ७५ जना शिक्षकमात्र रहेकाले स्तरीय शिक्षा दिन नसकेको मेयर कुश्वाहाले बताए।

संघीय सांसद राधेश्याम अधिकारीको नेतृत्वमा आएको विषेश टोलीले आईतबार मावि भसेढवा, प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया, मावि सोनरनिया र जिल्ला अस्पताल गौरको स्थलगत अनुगमन गरेको थियो। टोलीमा समिति सभापती निरादेवी जैरुका साथै सांसद प्रभु साह, सांसद लक्ष्मी परियार, प्रदेश सांसदद्वय कुन्दन कुश्वाहा, नागेन्द्र यादव सहभागी थिए।