वर्षा र हिमपात शुक्रबारदेखि मौसममा सुधार



काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन्। शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ।

अहिले काठमाडौं उपत्यकाको आकास बादल लागेर धुम्म छ। गएराति हल्का पानीसमेत गरेको थियो। पश्चिम क्षेत्रमा पनि पानी परिरहेको छ।

बुधबार दिउँसो र राति पनि पश्चिम, मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने पूर्वानुमान गरिएको छ।

शुक्रबार रातिदेखि भने देशभर मौसम सफा हुने छ। बदली, वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।