सिन्धुपाल्चोककाे ६ किलोमा बस दुर्घटना, १३ जनाको मृत्यु



काठमाडौँ। दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने कैयन हताहत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दुर्घटना भएको हो। प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन्।

प्रहरीका अनुसार कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो। सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को ठूलो दुर्घटना हो। गत कात्तिकमा पनि सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो। त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो। जसमा दर्जन बढीको ज्यान गएको थियो।