कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याइने



काठमाडौँ। नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली प्रदेशमा सूचना महामार्ग बिछ्याइने भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि सूचना महामार्ग (अप्टिकल फाइबर) बिछ्याउन समझदारी भएको छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशिलाका रुपमा सूचना महामार्ग निर्माणलाई अघि बढाइएको बताउँदै निर्धारित समयमै कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे।

यस अप्टिकल फाइबर सञ्जालमा करीब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन्। विस्तृत अध्ययन पश्चात एक महिनाभित्र सम्झौता गरीसक्ने समझदारीमा उल्लेख छ।