डाक्टरलाई बलात्कारपछि जलाउने ४ जना ‘इन्काउन्टर’ मा मारिए



काठमाडौँ। भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ। बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन्।

प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि-क्रियट’ गर्न लगेको थियो। चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ। तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन्।

गत २७ नोभेम्बरको रातमा हैदराबादमा एक महिला डाक्टरलाई चार जनाले सामूहिक बलत्कारपछि जलाएर मारेका थिए। उनको जलेको शव बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो। ती महिलाको स्कुटर पञ्चर गराएर बलात्कारीहरूले उनलाई पञ्जामा पारका थिए ।

सो घटनामा प्रहरीले चार आरोपीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो। त्यसपछि हैदरावाद प्रहरीले हिरासतको माग गर्दा आरोपीहरूलाई सात दिन प्रहरी हिरासतमा पठाइएको थियो। हिरासतबाटै उनीहरूलाई प्रहरीले घटनास्थलमा लगेर हत्या गरेको हो।