वामदेव गौतम उपप्रधानमन्त्री बन्ने !



काठमाडौँ। आजको कान्तिपुर दैनिकले प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीले फकाउँदै गरेको समाचार प्रकाशित गरेको छ। प्रम ओलीले गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव अघि सारेका हुन्।

मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रुपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतलाई समचारमा उल्लेख गरिएको छ। गौमलाई यस्तो प्रस्ताव गर्न अघि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए।

यता, प्रम ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भण्डै तीन महिनापछि संवाद भएको छ। तिक्त विवादको ८२ दिनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीच चार घन्टा लामो एक्लाएक्लै छलफल भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । ओली र नेपालबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सञ्चालनसहित समसामयिक राजनीतिक परिस्थिति र भारतसँगको सीमाविवादमा केन्द्रित रहेर चार घन्टा लामो छलफल भएको हो।

भेटवार्तामा उनीहरूले तिक्त सम्बन्धको समीक्षा गर्दै कमीकमजोरी दोहोरिन नदिने र संवाद बाक्लो बनाउने सहमतिसमेत गरेका छन्। ५ भदौमा बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली–नेपालबीच चर्काचर्की परेको थियो। सिंगापुरमा उपचारका लागि जानुअघि डाकिएको बैठकमा नेपालले दिएको स्वास्थ्यलाभको शुभकामना ओलीले अस्वीकार गरेपछि भनाभन भएको थियो। ओली–नेपाल सम्बन्ध चिसिएपछि दुवै समूहका कतिपय नेताहरू चिन्तित थिए।