डा.केसी काठमाडौँ जान मानेनन्, सेनाको हेलिकप्टर फिर्ता



डडेलधुरा । अनशनरत डा.केसीलाई लिन काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा पुगे पनि उनी काठमाडौँ जान मानेका छैनन्।

डा. केसीले आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं आउन इन्कार गरेका हुन्। उनलाई लिन आएकाे नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले केसीलाई काठमाडौं पठाउन सोमबार विहान गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेपछि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो।

डा. केसीको स्वास्थ्य अवस्था नाजुग भएको र मेडिकल सुपरिटेण्डेन्टले पनि सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने भनिसकेपछि हेलिकप्टर मगाएको थियो।

डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा छन्। उनी स्वास्थ्यकर्मी नीलकण्ठ भट्टको घरमा अनशन बसेका हुन्। स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई भट्टको घरबाट जिल्ला अस्पतालमा सारिएको थियो।

डा. केसीलाई डडेलधुरा जिल्ला अस्पतालबाट पनि अन्यत्र लैजान लागिएको विरोधमा उनका समर्थकहरुले विरोध गर्दै आएका छन्। बजार क्षेत्रको सडकमा टायर बालेर उनीहरुले प्रदर्शन गरिरहेका छन्।