‘कोहलपुरका डीएसपीलाई विभागीय कारवाही गरियोस्’



काठमाडौँ। नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई तत्काल विभागीय कारवाही गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहान ट्विटरमार्फत् नेपाल प्रहरीसँग शाहीलाई विभागीय कारवाही गर्न माग गरेका हुन्।

शर्माले प्रहरी नायव उपरीक्षक शाहीले नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा दिएको धम्कीको रेकर्ड सार्वजनिक भइसकेको स्मरण गराउँदै उनलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन्।

‘धम्कीको रेकर्ड सार्वजनिक छ, ले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्। प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउँछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम्को तीन मन्त्र पुनः पढाइयोस्,” प्रवक्ता शर्माले ट्विट गरेका छन्।

प्रहरी नायव उपरीक्षक शाहीले तरुण दलका जिल्ला कोषाध्यक्ष खड्कालाई टेलिफोनमा दिएको धम्कीको रेकर्ड शुक्रबार सार्वजनिक भएको थियो। उक्त फोन रेकर्डअनुसार दसैं अगाडि शाहीले खड्कासँग खसी मागेको, खसी नदिएपछि उनीहरुबीच विवाद बढेको देखिन्छ।

तरुण दलका कोषाध्यक्ष खड्काले पनि बाह्रखरीसँगको कुराकानीमा आफूले खसी नदिएपछि प्रहरी नायव उपरीक्षक शाहीले धम्की आएको दाबी गरेका छन्। उनले भने, ‘‘ममाथि खतरा छ। मैले खसी नदिएपछि डीएसपीले त्यसको रिस पोख्न लागेका हुन्।”

“मलाई सरुवा गराउँछु भन्दै हिँडेको छस् रे १ तँ फुक्दै हिन, तेरो तिघ्रा छेड्दिन्छु मैले। तँसँग वार नै भयो मेरो,” सार्वजनिक अडियोमा पनि भनिएको छ। सार्वजनिक भएको अडियो प्रहरी नायव उपरीक्षक शाहीकै हो वा होइन भन्ने पुष्टि भने भएको छैन।