कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा तैं चूप, मै चूप



रामकान्त उपाध्याय,

दुर्गम तथा पिछडिएको क्षेत्रमा सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षाको पहुँच पु¥याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको हो। स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन–अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्नु प्रतिष्ठानको मुख्य उद्देश्य रहेको छ।

स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षासम्बन्धी नवीनतम अवधारणाको पहिचान तथा प्रभावकारी कार्यान्वयनका लागि यो एउटा स्वायत्त संस्थाको परिकल्पना गरिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाको स्थापना भएदेखि आजसम्मको अवस्थामा आइपुग्दा थुपै सकारात्मक र नकारात्मक पक्ष देखिएका छन्।

सकारात्मक पक्ष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुअघि जुम्ला जिल्ला अस्पतालमा न कुनै डाक्टर भेटिन्थे, न सामान्य औषधिको सहज आपूर्ति नै हुन नै सक्थ्यो। बिरामीले एक चक्की सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो।

तराईका अस्पतालमा उपचार गर्न लाखौं खर्च गर्नुपर्ने अवस्था थियो भने हवाई जहाजबाट बिरामी लैजाँदै गर्दा बीचैमा मृत्यु हुन्थ्यो। कति बिरामीको हवाई जहाजको टिकटको प्रतीक्षामा बस्दाबस्दै एयरपोर्टबाट नै मृत्यु भएका घटनाहरु पनि छन्।

तर प्रतिष्ठान स्थापना भएदेखि यो अस्पतालमा ठूलाठूला अपरेसनहरु भइरहेका छन्। हाल यस शिक्षण अस्पतालमा १४/१५ जना प्रोफेसर, २४/२५ जना विशेषज्ञ चिकित्सक, ३० जना मेडिकल अफिसर (एमबिबिएस) डाक्टर तथा नर्सिङ अफिसर, स्टाफ नर्स र विभन्न पारामेडिक्स गरी झन्डै १३० जना र केही प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढी स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।

हाल अमेरीकाबाट आएका हाडजोर्नी विशेषज्ञबाट पनि सेवा प्रवाह भइरहेको छ। पहिलाभन्दा अत्याधुनिक औजार–उपकरणहरुले बिरामीको उपचार भइरहेको छ। प्रशासन, ओपिडी, इमर्जेन्सी, ल्याब, एक्स–रे लगायत दर्जनौ उपकरण उपलब्ध छन्। गरिब तथा पिछडिएको जनमानसलाई पनि यो अस्पतालले सहज बनाइदिएको छ।

शिक्षातर्फ यस प्रतिष्ठानले ३ वटा ब्याचको नर्सिङका विद्याथीको पढाइ पूरा गराई उनीहरुलाई बाहिर पठाइसकेको छ भने छैटौं ब्याचको कक्षा रनिङ भइरहेको छ। प्रवीणता प्रमाणपत्र तह जनरल मेडिसिन (एचए) को अहिले २ वटा ब्याच पूरा गराई बाहिर पठाइसकेको छ भने चौथो ब्याच रनिङ भइरहेको छ।

यो प्रतिष्ठानको स्थापनापछि पठनपाठनको लागि काठमाडौंजस्ता ठूला सहरमा ऋण गरेर छोराछोरी पढाउनुपर्ने बाध्यताको लगभग अन्त्य भएको छ। विगतका दिनहरुमा कर्णाली लगायत देशका विकट क्षेत्रका विद्यार्थीहरुको लागि टेक्निकल विषय एचए, स्टाफ नर्स पढ्नका लागि विद्यार्थीलाई पिछडिएको क्षेत्रभित्र कुनै पनि अवसर थिएनन् भने आज यस प्रतिष्ठानले पिछडिएको क्षेत्रका विद्यार्थीका लागि ठूलो अवसर जुटाइदिएको छ। व्याचलरतर्फ बिपिएच प्रोग्राम, ब्याचलर आफ मिडवाइफ्री साइन्स जस्ता प्रोग्रामहरुले यो क्षेत्रका जनता तथा विद्यार्थीलाई अझ खुसी  थपेको छ।

प्रतिष्ठानको ३०० शय्याको शिक्षण अस्पताल भवनले सम्पूर्ण नेपाली तथा विदेशीमा कर्णालीप्रतिको हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्याइदिएको छ र आम कर्णाली लगायत पिछडिएको क्षेत्रका जनताका लागि सुखद बन्न पुगेको छ।

नकारात्मक पक्ष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पनि नेपालका अन्य सरकारी निकाय तथा संस्थान जस्तै विभिन्न राजनीतिक गतिविधिबाट अछुतो रहन सकेको छैन। यस शिक्षण अस्पतालमा आगलागी भएको यतिका समय बितिसक्दा पनि सरकारले आगलागीको छानविन प्रक्रिया समेत अघि बढाउन सकेको छैन। उक्त आगलागीबाट यस अस्पतालका करोडौंका अत्याधुनिक उपकरणहरु क्षति भएको थियो। सो आगलागीको कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।

आजभन्दा डेढ वर्षअघि प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा भएको प्रतिष्ठानको सिनेट बैठकमा जिल्ला अस्पतालमा आउने बिरामीको संख्यालाई आधार मानेर तत्काल मेडिकल कलेज स्थापना गरी एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने एजेन्डा पास भएको थियो। अब प्रश्न उठ्छ, प्रधानमन्त्री आफैंले उठाएका विषयवस्तुलाई कार्यान्वयनमा ल्याउने कि नल्याउने?

दोस्रो पटक प्रतिष्ठानको सेमिनार हलमा तत्कालीन सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बोलेका महत्वाकांक्षी विषयवस्तुलाई व्यवहारमा उतार्ने कि सपनामा देखेको अनौठो दृष्य सम्झेर भुलिदिने? अर्को महत्वपूर्ण कुरा निवर्तमान कुलपति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको नवनिर्मित ३०० शैयाको भवन उद्घाटन गरी ताम्रपत्रमा लेखिएको नाम प्रतिष्ठानको प्रवेश गेटमा मात्र सीमित गराउने कि प्रतिष्ठानको लागि थप ऊर्जा दिने?

प्रतिष्ठानका उपकुलपतिको कार्यशैलीले पनि नकारात्मक भूमिका उत्पन्न गरेको हो कि भन्ने चिन्ता पनि उब्जिएको छ। बोलेर मात्र हुँदैन, पिछडिएको क्षेत्रका जनताका लागि भाषण होइन, काम चाहिएको छ। उपचार चाहिएको छ।

प्रतिष्ठान पहल समितिका संयोजक तथा हाल कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सहसंयोजक तथा पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतको टिमले प्रतिष्ठानको विकासका लागि पहल गरेको थियो। तर, हाल आएर यस प्रतिष्ठानप्रति कसैको पनि चासो नदेखिनुले कतै प्रतिष्ठानको प्रतिष्ठामा नै संकट पर्ने त होइन? प्रतिष्ठानप्रति संघीय सरकार मौन किन? आज प्रतिष्ठान स्थापनाको ७ वर्ष पूरा गरी आठौं वर्ष प्रवेश गरिसक्दा पनि सरोकारवाला निकायको ध्यान किन जान सक्दैन?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमबिबिएस तथा अन्य मास्टर्स प्रोग्रामहरु सञ्चालन गर्ने अवसर पाएको खण्डमा ४५ प्रतिशत पिछडिएका क्षेत्रका स्थायी बासिन्दाले कोटा पाउने छन् भने ५५ प्रतिशत नेपाल तथा विभिन्न विदेशी मुलुकका नागरिकले स्वास्थ्य शिक्षा प्रदान गर्ने अवसर पाउने छन्। साथै जुम्ला स्वास्थ्य पर्यटन हवको रुपमा स्थापित हुने छ। यसले गर्दा कर्णाली प्रदेश लगायत नेपाल सरकारलाई नै टेवा पुग्ने छ।

(उपाध्याय शिक्षण अस्पताल जुम्ला, कर्मचारी कल्याणकारी समाजका अध्यक्ष हुन्)