नेकपाको छैटौँ वर्षगाँठ र प्रतिबन्धपछि मिडियाको नजर



काठमाडौँ। पुनर्गठनको छैटौँ वर्षगाँठ मनाइरहँदासम्म नकेपा विप्लवले पार्टीको राजनीतिक कार्यदिशाका विषयमा आफ्नै पार्टीका नेताहरुलाइ समेत विश्वस्त बनाउन नसकेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ।

कतिपय सन्दर्भमा पार्टी नेताहरु स्वयम् पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन्। खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्यौल छ। दीर्घकालीन छापामार युद्ध कि मध्यम वर्गलाई पनि साथमा लिएर सशस्त्र जनविद्रोह भन्नेमा मतऐक्यता छैन। कतिपय नेताले पछिल्लो पटक कार्यदिशामै अलमल देखिएको भन्दै पार्टीसमेत छाडेका छन्।

कान्तिपुर दैनिकमा धमाधम पक्राउ पर्न थालेपछि चन्द समूहका कतिपय नेता–कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेको समाचार प्रकाशित छ। प्रहरीको तथ्याङ्क अनुसार ०७५ साल फागुन २८ गते प्रतिबन्ध लागेपछिको ८ महिनामा केन्द्रदेखि जिल्ला स्तरीय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५० नेता–कार्यकर्ता पक्राउ परेका छन्।

प्रहरीले पार्टीका महासचिव चन्दसहित ५ सय १९ जनाको नाम फरार सूचीमा राखेको छ। हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता कार्यकर्ताविरुद्ध देशभरका अदालतमा १ हजार ८८ वटा मुद्दा दर्ता छन्।

पक्राउ परेका मध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। ८ सय ३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ। १ सय ३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुन्धानको क्रममा प्रहरी हिरासतमा छन्।