चैत तेस्रो साता ‘सगरमाथा संवाद’ को आयोजना हुने



काठमाडौँ। आगामी चैतको तेस्रो साता नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ। जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलो पटक आगामी चैत्र २०, २१ र २२ गते अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कार्यक्रमबारे औपचारिक जानकारी दिएका हुन्। विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको उनको भनाइ छ।

संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको ज्ञवालीले बताए। सरकारले कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को स्थापना गरेको छ। परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।