बर्दगोरियालाई महिला हिंसामुक्त पालिका घोषणाको मागसहित अनेमसंघ (क्रान्तिकारी) द्वारा ज्ञापनपत्र 



बौनिया (कैलाली)। सुरक्षित महिला अधिकारको मागसहित नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ।

सोमबार अनेम संघको टोलीले बर्दगोरिया गाउँपालिकालाई महिला हिंसा मुक्त पालिका घोषणालगाएतका ११ बुदे मागहरू समेटिएको ज्ञापनपत्र पालिका अध्यक्ष बलिराम डगौरा थारुलाई बुझाएको हो।

ज्ञापनपत्रमा आमाको नामबाट नागरिकता प्राप्तगर्न सहज वातावरण सृजना गरिनुपर्ने, गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयमा १ जना स्टाफ नर्सको व्यवस्था गरिनुपर्ने, मावि तहसम्म किशोरीमैत्री वातावरण बनाउन आरामक्ष, शौचालय तथा स्यानिटरी प्याडको सहज व्यवस्था हुनुपर्ने, प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृह निर्माण गरिनुपर्ने माग राखिएका छन्।

यसैगरी स्वास्थ्यसंस्था, विद्यालय क्षेत्रको हाता वरपरको निश्चित दुरीसम्म धूम्रपान, मध्यपान तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिनुपर्ने, छोरीको लागि जन्मपछि अनिवार्य रूपमा वैङ्क खाताको व्यवस्था गरिनुपर्ने, माध्यमिक तहसम्म निशुल्क शिक्षा कायम गरिनुपर्ने माग उल्लेख गरिएको छ।

ज्ञापनपत्र बुझ्दै पालिका अध्यक्ष थारुले महिला हक अधिकारको सुनिश्चितताको लागि आफू प्रतिबद्ध रहेको बताए। नयाँ नेपाल निर्माणको सवालमा समेत महिला दिदिबहिनीले पुर्याएको योगदान उच्च रहेको बताउदै उहाँले महिला अधिकार सुनिश्चितताको लागि आफुले हरसम्म प्रयास गर्ने बताउनुभयो।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले मौलिक हक अन्तर्गत महिला हक, समानताको हक र सामाजिक न्यायको सवालमा राज्य गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराउन बर्दगोरियासहित देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको हो।