‘महेन्द्र शाहीलाई दशरथपुरका सालका ठुटाले पनि चिनेका छन्’



सुर्खेत। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रमुख प्रतिपक्षि दलका नेता यामलाल कँडेलले व्यक्तिगत रोष पोख्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चर्को आलोचना गरेका छन्।

प्रदेशको सातौ हिउँदे अधिवेशनको दोस्रो वैठकमा बोल्दै नेता कँडेलले भगौडाहरुलाई समेटेर सरकार निमार्ण गरेर नैतिक हराम काम गरेको टिप्पणी गरे। बैशाख ३ गते एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाएका थिए।

उक्त प्रसँगमा अधिकांश समय दिएका नेता कँडेलले मुख्यमन्त्री शाहीको विगतलाई केलाएर चर्को आलोचना गरे। उनले एमालेका सांसदहरु देख्दा देख्दै मन्त्रीपद दिएको भन्दै मुख्यमन्त्री शाहीको आलोचना गरे।

उनले भने, ‘दलीय आचरणका बारेमा तपाईं ‘मुख्यमन्त्री’ लाई के सिकाउनु? भगौडाहरुलाई बोकेर नैतिक हराम काम गर्नुभयो। दशरथपुर बसेकै कमाण्डर अहिले मुख्यमन्त्री हुनुहुन्छ। त्यहाँका जनताले चिने कि चिनेनन्। त्यहाँका सालका ठुटाले समेत महेन्द्रबहादुर शाहीलाई चिन्दा रहेछन्। बुझ्दै जाँदा। बै‌क खाताले पनि चिन्दा रहेछन्। यस्ता नैतिक हराम काम गर्नेहरुको सरकारसँग सम्बन्ध कायम गरेर अगाडि बढ्नु पर्नेछ।’

उनले अगाडि भने, ‘सम्पूर्ण समस्याको समाधान कर्णाली प्रदेश हो भन्ने तपाईंहरुका नेताहरुबाट परिचालित हुने र यसरी नै अगाडि बढ्ने हो भने राम्रो हुन्न। हामीले बाँकी रहेको समयमा सकारात्मक सन्देश दिने नै हो। नेकपा एमाले नयाँ भूमिकामा आएको छ। दलीय व्यवस्थालाई व्यवहारत झल्काउने कुरा, सकरारका राम्रा कुरामा साथ दिने कुरामा तयार छ। तर, सरकार अनैतिक काममा हिडिरहेको छ। यसबाट टाढा रहनुपर्छ। अन्यथा एमाले चुप बस्दैन। सदनभित्र एमाले छ। बाहिर अहिले कोरोना छ। कोरोना नभएको भए तपाईंका मन्त्रालय सामू अन्यधेरै मानिसहरु स्वागत गर्न आईहाल्थे।’

साथै नेता कँडेले सरकारका तीन वर्ष भरण पोषणमा वितेको आरोप लगाए। तीन वर्षमा सरकारले स्मरण गर्न लायक कुनै पनि काम नगरेको भन्दै बाँकी समयमा केही गर्नका लागि अनुरोध गरे।