कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य



सुर्खेत। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ।

सोमबार राती १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरिएको हो। तेस्रो अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने १२ घण्टा ५६ मिनेट समय खर्च भएको छ।

तेस्रो अधिवेशनको पहिलो बैठक फागुन ३० गते सुरु भएको थियो। प्रदेश पमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाइएको थियो। प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। सभामुख नन्दा गुरुङले उक्त पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य घोषणा भएको जानकारी गराइन्।

यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधिन अवस्थामा रहेका छन्। साथै फागुन १५ गते कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता भएको छ।