संविधानमाथि चुनौती खडा भइरहेको छ: अध्यक्ष नेपाल



मकवानपुर। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानमाथि नै चुनौती आइरहेको बताउनु भएको छ।

साथै उहाँले पछिल्लो समयमा लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयता माथि चुनौती आउन थालेको बताउनु भयो। शनिबार हेटौँडामा आयोजित एकीकृत समाजवादी पार्टी मकवानपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय व्यवस्था र संविधान माथि चुनौती दिने प्रतिगामी शक्ति सक्रिय भइरहेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अहिलेको लोकतन्त्र, संविधान माथि नै चुनौती थपिएको छ। हामीले जनताको रगत पसिनासँग साटेर ल्याएको गणतन्त्र र संघीयता नै रहने हो कि होइन भन्ने चुनौती आइरहेका छन्। व्यवस्था र संविधानविरुद्ध प्रतिगामी शक्तिहरू सक्रिय भएर लागिरहेका छन्। राष्ट्रियतामाथि चुनौती आउने सम्भावना छ।’

राजनीति जनताको सेवा गर्ने सिद्धान्त रहेको र राजनीतिलाई लुट र ठगी धन्दा बनाउनु अपराध भएको उहाँको भनाई छ। एकीकृत समाजवादीले भ्रष्टाचाररहित रहेर इमानदारिता र जनताको सेवालाई राजनीतिको मुख्य मिसन बनाएको उहाँले बताउनु भयो।

‘उहाँले अगाडि भन्नुभयो, ‘राजनीति ठगी र लुटतन्त्रको नाम राजनीति होइन। राजनीतिमा लुट्ने र लुटेराको कुनै ठाउँ छैन। जनतालाई दुःख दिने, लुट्ने र ठग्ने तथा गलत काम गर्नेहरूलाई दण्डित गर्नुपर्छ।’

पछिल्लो समय सत्ता राजनीति तारनतार परिवर्तन हुँदै गर्दा एकीकृत समाजवादी सरकार फेरबदल केन्द्रित नरहेको उहाँले बताउनु भयो। जनताको पक्षमा काम गर्ने बलियो र दीर्घकालीन सरकार निर्माण गरेर आर्थिक सामाजिक र विकासका काम गर्न सरकारका नेतृत्व गरिरहेकाहरूलाई खबरदारी गरिरहेको उहाँले बताउनु भयो। एकीकृत समाजवादी देश बनाउने विषयमा केन्द्रित रहेको उहाँको भनाई छ।

अध्यक्ष नेपालका अनुसार राजनीतिमा निजी स्वार्थ सोचेर अघि बढ्न नहुने जिकिर गर्नुभयो। त्याग र परिश्रम विना जनताले खोजेअनुसारको पार्टी निर्माण सम्भव नहुने उहाँको भनाई छ। एकीकृत समाजवादीले यथास्थितिवादी भएर जनतामैत्री बन्ने र अनुशासित, संस्कार सहितको कार्यकर्ता निर्माण गर्नुपर्ने अध्यक्ष नेपालले बताउनु भयो। एकीकृत समाजवादीले चुनौतीको सामना गर्न सकिन्छ भन्ने विषय स्थापित गरेको उहाँले दाबी गर्नुभयो।