इलाम २ मा ५५ र बझाङमा ५० प्रतिशत मात्र मतदान



काठमाडौँ। इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा क्रमश: ५५ र ५० प्रतिशत मात्र मतदान भएको छ।

शनिबार सम्पन्न उपनिर्वाचनमा आयोगले पाएको प्रारम्भिक विवरणअनुसार इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत हाराहारी र बझाङमा ५० प्रतिशत हाराहारी मतदान भएको हो।

आयोगले गरेको अपेक्षाभन्दा केही थोरै मतदान भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने-‘निर्वाचनमा मतदाता कम हुनुमा दुई तीनवटा कारण हुनसक्छ। मतदाता नामावली अद्यावधि गर्नका लागि हामीले जति आग्रह गरे पनि त्यो अपडेट नगर्ने अवस्थाले हुनसक्छ। जस्तो मृत्यु भएको मान्छेको मतदाता नामावलीमा नाम समावेश भइरहनु, त्यसबारे आयोगलाई जानकारी नगराउँदा, घर परिवारका मान्छेले आयोगलाई जानकारी नगराएसम्म हामीले हटाउन सक्दैनौँ। मतदाता नामावली नै कम अपडेट हुनुपनि कारण हुन सक्छ।’

उनले अगाडि भने,‘अर्को कुरा त्यहाँका मानिसहरू उक्त जिल्लाबाहिर जागिरे होलान्, कतिपय विदेश पनि गएका होलान्। त्यहाँ मौजुद रहेमा मानिसहरूले भोट नहालेको भन्ने देखिँदैन। इलामका कतिपय मैले चिनेका मान्छेलाई फोन गरेर कहाँ हुनुहुन्छ भनेर सोध्दा काठमाडौँमै छु भन्छन्। काठमाडौँमा भएका कर्मचारी पनि गएनन्। मतदाता नामावलीमा नाम छ तर मान्छे त्यहाँ छैन, त्यस कारणले पनि मत कम खसेको हो।’

यस्तै पहिला कर्मचारीका लागि अस्थायी मतदाता नामावली बनाएर जहाँ खटिएको छ त्यहीँ मतदान गर्न पाउने व्यवस्था गरेकोमा अहिले सो नगरिएको उल्लेख गरे। राष्ट्रिय निर्वाचन जस्तो उपनिर्वाचनमा उत्साह पनि कम हुने भएकाले अहिले खसेको मत ठिकै रहेको थपलियाको भनाई छ।