नेपाल सामु हङकङ निरिह, ८ विकेटले पराजित



काठमाडौँ। बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ।

ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्‍यो। लगातार तेस्रो विजय हात पारे पनि नेपालको सेमिफाइनल स्थान निश्चित हुन सकेको छैन। मलेसिया र साउदी अरेबियाले पनि समूह ‘ए’ मा ३ खेल जित्ने समीकरण बाँकी रहेको छ। नेपालले साउदी अरेबियासँग बुधबार समूहचरणको अन्तिम खेल खेल्ने छ।

वर्षाका कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा १ सय १४ रनमै अलआउट भयो । नेपालले १२।२ ओभरमै लक्ष्य पुरा गर्‍यो। कप्तान रोहित पौडेल २० बलमा ३ चौका प्रहार गरी २५ र सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्का प्रहार गरी १९ रन बनाई अविजित रहे।

कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए। कुशल १९ बलमा ३२ रन बनाई छैटौं ओभरमा आउट भए। उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । आसिफले १८ बलमा समान ३ चौका र छक्का प्रहार गरी ४० रन बनाए।

मस्कटस्थित अल अमेरातमा अविनाश बोहरा र ललित राजवंशीले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनीहरुले विकेट लिनुका साथै कसिलो बलिङ गरेका थिए। अघिल्लो खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका दीपेन्द्रले पछिल्लो दुई विकेट लगातार बलमा लिएपछि हङकङ पुरा १८ ओभर पनि खेल्न नसकी अलआउट भयो। हङकङ इनिङ्सको अन्तिम ओभर दीपेन्द्रको हकमा बलिङमा पहिलो ओभर थियो।

अविनाशले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। ललितले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर २ विकेट लिए। १०औं ओभरमा आफ्नो पहिलो ओभर लिएर बलिङमा आएपछि नै ललितले विकेट लिन सुरु गरेका थिए। करण केसीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिएका थिए।

ओपनर अंशुमन रथले सर्वाधिक ३४ रन बनाए। उनले २६ बल खेली ४ चौका र १ छक्का प्रहार गरे। उनलाई गुलशन झाले थर्डबाट सिधा थ्रोमा रन आउट गरेका थिए। जेसन अलीले १४, कप्तान निजाकत खानले १२ र इहसान खानले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्।

अघिल्लो महिना हङकङमै नेपालविरुद्ध शतक बनाएका बाबर हायतलाई ६ रनमा कट एन्ड बोल्ड गरी ललितले आफ्नो पहिलो विकेट लिएका थिए। एजाज खानले पनि ७ रनमात्र बनाउन सके।

नेपालले पहिलो दुई खेलमा मलेसिया र कतारलाई पराजित गरिसकेको छ। यस खेल जितेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो हुनेछ। हङकङलाई अघिल्लो साउदी अरेबियाले ५५ रनले स्तब्ध पारेको थियो।