हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा तीन पक्राउ



काठमाडौँ। हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ ले तीन जनालाई पक्राउ गरेर ठगीको कसूरमा अनुसन्धान अघि बढाएको हो। पक्राउ परेकाहरूको हकमा सीआईबीले अहिलेसम्म औपचारिक रुपमा केही बोलेको छैन।

सीआईबी उच्चस्रोतकाअनुसार पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समिति सदस्य रामहरि अधिकारी छन्।

‘तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरेका छौं। उनीहरूबाट केही नयाँ तथ्य खुले थप व्यक्तिहरू पक्राउ पर्ने र अनुसन्धानको काम अघि बढ्छ’ सीआईबी स्रोतले अनलाइनखबरसँग भन्यो।

त्यसैगरी यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा ५ फागुनमा पक्राउ गरेका ओमप्रकाश गुरुङ र दुर्गा चापागाईंलाई पनि सीआईबीले काठमाडौं झिकाएर बयान गराएको छ ।

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष रहेका ओमप्रकाश हाम्रो नयाँ कृषिका सचिव रहेको पाइएपछि उनलाई झिकाएर बयान कागज गराइएको हो । सुप्रिम सहकारीकै भैरहवा शाखा व्यवस्थापक रहेकी दुर्गा पनि हाम्रो नयाँ कृषि सहकारीका सञ्चालक सदस्य रहेको पाइएपछि उनलाई काठमाडौं झिकाएर सीआईबीले बयान लिइसकेको छ ।

हाम्रो नयाँ कृषि सहकारीबाट पीडित भएको भन्दै अहिलेसम्म २१ जनाले सीआईबीमा जाहेरी दिएका छन् । जाहेरीमा उल्लेख भएअनुसार करिब साढे २ करोड रुपैयाँ अपचलन भएको छ।

२१ जना बचतकर्ताले ७ जनालाई प्रतिवादी बनाउँदै सीआईबीमा जाहेरी दिएका थिए । जसमध्ये उपाध्यक्ष लिलाबहादुर गुरुङ, नयाँ कृषिका सचिव ओमप्रकाश गुरुङ, कोषाध्यक्ष नवीन अछामी, सञ्चालक समिति सदस्यहरू रामहरि अधिकारी र दुर्गा चापागाईं अहिले प्रहरी हिरासतमा छन् ।

दुई जना अहिलेसम्म फरार छन्। फरार हुनेहरूमा सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई र सञ्चालक समिति सदस्य असरफ अलि सिद्दिकी छन् ।
जीबीविरुद्ध भने यसअघि नै पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रेड नोटिस समेत जारी भइसकेको छ।

सुरूमा इन्टरपोलले १३ माघमा जीबीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। डिफ्युजन नोटिसमात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै पुनः रेड नोटिसका लागि पत्राचार गरिएको थियो। २१ फागुनमा इन्टरपोलमार्फत जीबीविरुद्ध रेड नोटिस समेत जारी भइसकेको थियो।

त्यति हुँदा समेत जीबी ल्याउने प्रक्रिया लामो हुने भन्दै परराष्ट्रमार्फत मेलेसियन सरकारलाई पत्राचार गरिएको थियो। तर, मलेसियामा रहेका भनिएका जीबी अहिलेसम्म पक्राउ परेका छैनन्।

उनै जीबी हाम्रो नयाँ कृषि सहकारीमा पनि जोडिएका छन्। काठमाडौँ बालुवाटारमा रजिष्टर्ड कार्यालय रहेको यो सहकारीको कार्यक्षेत्र नेपालभर थियो। २०७० सालमा स्थापना भएको उक्त सहकारीले कोभिडपछि देशका विभिन्न स्थानमा किसानलाई प्रलोभनमा पारेर सेयर सदस्य बनाएर बचत रकम संकलन गर्ने गरेको देखिन्छ।

२७ साउन २०७७ मा भएको सहकारीको आठौं वार्षिक साधारणसभाबाट सूर्यबहादुर गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन भएको थियो। उक्त सञ्चालक समिति उपाध्यक्षमा वर्तमान श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद डोलप्रसाद ९डीपी० अर्याल थिए।

मन्त्री अर्याल समेत कुनै समय सञ्चालक समितिको उपाध्यक्ष रहेको सहकारीका पाँच जना पक्राउ परेपछि अनुसन्धान कुन तहसम्म पुग्छ भन्ने प्रश्न उब्जिएको छ। तर, यसबारे अहिले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेको भन्दै सीआईबीले केही पनि बोलेको छैन।

यता मन्त्री अर्यालले भने आफू नै सहकारीबाट पीडित भएको र २३ लाख उठाउन बाँकी रहेको दाबी गर्दै आएका छन्। मन्त्री अर्यालका साथै कुनै समय रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहकारी सञ्चालक समिति सदस्य थिए। २०७७ सालमा सहकारी उपाध्यक्ष बनेका वर्तमान श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री बुर्लाकोटीकै सक्रियतामा २०७९ मा भएको दशौं वार्षिक साधारण सभाबाट जीबी राई अध्यक्ष बनेका थिए।

जीबी हाम्रो नयाँ कृषि सहकारीको अध्यक्ष बनेपछि उनले आफू प्रत्यक्ष संलग्न रहेको काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता, वीरगञ्जको सानो पाइला, चितवनको सहारा चितवन र पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग मर्ज गर्ने भन्दै सहकारी विभागमा निवेदन समेत दिए।