वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार



काठमाडौँ । वायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा एक पूर्वमन्त्री, दुई पूर्वसचिव र बहालवाला एक सहसचिवसहित ३२ विरुद्ध डेढ अर्ब रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, पूर्वसहसचिव जीवनप्रकाश सिटौलासहित २४ नेपाली, ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबी गरेर बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रतिवादीमा पर्यटनमन्त्री र पर्यटन सचिवसहित वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी तथा सदस्य/कर्मचारी तथा ठेकेदार कम्पनी एवं त्यसका प्रतिनिधि छन् ।

विमान खरिद प्रकरणमा २०७३ पुस २७ मै अख्तियारमा उजुरी परेको थियो। त्यसको २ वर्ष पछि २०७५ पुस २६ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको थियो । महालेखा परीक्षकको ५५ औं र ५६ औं वार्षिक प्रतिवेदनले पनि विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको औंल्याएको थियो ।

लेखा समितिले उपसमिति बनाएर खरिद प्रकरणमा छानबिन गरेकामा अनियमितताका तथ्य र प्रमाण भेटिएपछि प्रतिवेदनसहित अख्तियारलाई अनुसन्धान गर्न जिम्मा दिएको थियो । तर, यो प्रकरणमा सत्ता–शक्तिको दबाब र प्रभावका कारण सूक्ष्म अनुसन्धान नै हुन सकेको थिएन । गत वर्ष पुनः अख्तियारले अनुसन्धान अघि बढाएकामा त्यसलाई टुंगो लगाउँदै बिहीबार राजनीतिक, प्रशासनिक व्यक्ति तथा ठेकेदारसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।