मैले मानव इतिहासमा सबैभन्दा मान्ने मान्छे अल्बर्ट आइनस्टाइन हुन् । उनी मानव र भौतिक विज्ञानमा अहिलेसम्मका सबैभन्दा ठूला चिन्तक हुन् । उनी भन्थे- मसँग कुनै ठूलो प्रतिभा छैन तर म अत्यन्त गम्भीर ढंगले जिज्ञासु छु, जान्ने प्रयास गर्छु ।
उनी भन्थे- कुनै व्यक्तिलाई उसले दिने उत्तरले भन्दा उसले सोध्ने प्रश्नद्वारा मूल्यांकन नगर । हालसालै एउटा पुस्तक आएको छ- द आइनस्टाइन इफेक्ट । यसमा उनको विचारले पारेको प्रभाव बारे चर्चा गरिएको छ ।
हामी सबैलाई देश बनेन भन्ने चिन्ता छ । अठारौं शताब्दीसम्म संसारको सबै देशको हाराहारीमा हामी थियौं । तर पछिल्लो दुई सय वर्षयता हामी पछाडि पर्यौं । आर्थिक रूपमा विश्वको औसत प्रतिव्यक्ति आय १४ हजार डलर रहँदा हाम्रो १४ सय डलर मात्र छ । यो विश्वको औसतभन्दा २० गुणा तल हो । विकासमा हामी विश्वको औसतभन्दा १० गुणा पछाडि पर्यौं ।
त्यसो भए, वैचारिक र सोचको दृष्टिले हामी कहाँ छौं ? त्यसको ठ्याक्कै मापन गर्ने यन्त्र त छैन तर आम रूपमा आईक्यूको मापनमा हामी संसारको सबैभन्दा पुछारमा रहेछौं ।
यसको औसत मापन ८५ देखि ११५ को स्कोर हुनेरहेछ । आइस्टाइनको करिब ४०० थियो भनिन्छ । हामी नेपालीको औसत ४२.९ रहेछ । मध्ये अफ्रिकाका सबैभन्दा पछाडि परेका मान्छेका भन्दा हामी आधा तल छौं हामी । हाम्रो समस्या यहीं छ । हामी न सिक्न खोज्छौं न प्रश्न गर्न । सन्तुष्ट हुन्छ । अनि समाज, देश बनेन भन्छौं । कम्तिमा हाम्रो पुस्ताले बदल्नको निम्ति लड्नुपर्छ भन्थ्यो ।
युवा साथीहरूलाई मात्रै दोष दिन खोजेको होइन, म मेरो भागमा परेको लिन तयार छु । कम्तिमा हामीमा बदल्नुपर्छ, संघर्ष गर्नुपर्छ भन्ने थियो । ठिक र बेठिक, सत्य र असत्य, न्याय र अन्यायको लडाइँ मानव जातिको उत्पत्तिदेखि निरन्तर भइरहेको छ र यो भोलि पनि हुनेछ । तर अहिले त यो देश बन्दैन, छाडेर हिंड्नुपर्छ भन्ने आइरहेको छ । वास्तवमा हाम्रो समस्या यही नै हो ।
यो समस्याको संरचनात्मक कारण छ । भौतिकसँगै मानसिक, बौद्धिक र वैचारिक पनि संसारको पिंधमा पर्नुको कारण र समाधान के होला ?
समाधानको सुत्र दिन म ज्ञानी होइन, जिज्ञासु छु र पढिरहन्छु । युवल नोवा हरारीभन्दा अगाडिका र उनले पनि मान्ने विद्वान जारेड डायमण्डको ‘गन्स, जर्म्स एण्ड स्टीलः द फेट्स अफ ह्युमन सोसाइटी’ पुस्तकका लेखकको अर्को पुस्तक आएको छ- ‘अप्हिभलः हाउ द नेसन्स कोप विथ क्राइसिस एण्ड चेञ्ज’ । पुस्तकमा उनले यस्तै संकटमा परेका देशहरूको उदाहरण दिंदै त्यसबाट उठेर उनीहरू कसरी माथि आए भनेर चर्चा गरेका छन् । उनले विश्वयुद्धमा ध्वस्त भएका जर्मन र जापानी, फिनल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना लगायतका ७ देशका अध्ययन गरेर उनले केही निष्कर्ष निकालेका छन् ।
तीमध्ये नेपालसँग मिल्ने सन्दर्भ हो- हामी नेपाली किन आफ्नै देशलाई माया गर्न र आफैंप्रति विश्वास गर्न कि छाड्यौं ? यो देश बनाउनुपर्छ होइन, बन्दैन भनेर छाडिहिंड्नुपर्छ भन्ने लहर छ । यो देश किन यस्तो भयो ? यसका केही कारण छन् ।
विसकित देशमा पढ्ने संस्कृति हुन्छ । हाम्रोमा यसलाई काम नलाग्ने कामका रूपमा अर्थ्याइन्छ । हामी कोही पढ्छौं ? अनि आउँछ ज्ञान ? अनि बढ्छ आईक्यू ? अनि कसरी देश बन्छ ? जारेडले यही कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसमा बीपीपछि नेताहरूले पढ्न छाडे । केवल अमेरिकाका कुन कुन विश्वविद्यालयमा के के पढाइन्छ, त्यही घोक्छन् । त्यसैले कांग्रेस लड्खडाएको छ । मैले कसैलाई अपमान गरेको होइन । नवउदारवादका सिद्धान्तहरू सजिलै प्राप्त हुन्छ । मेरो गुनासो, खासगरी कम्युनिष्ट भन्ने साथीहरूप्रति छ ।
कार्ल मार्क्सले डेढ सय वर्षपहिला जे भनेका थिए, कम्युनिष्टहरू त्यही घोकेर बसिरहेका छन् । पछि स्टालिनले रूसमा जे लागु गर्न खोजेका थिए, यहाँ त्यही गर्न खोज्छन्, अनि हुन्छ के ? ओरालो नलागेर के हुन्छ । म खिइएको होइन, त्यहाँबाट निस्किएको छु । खिइनेहरू त्यहीं छन्, ओरालो यात्रामा छन् । म अर्को उकालो यात्रामा निस्किएको छु । भलै सुरुमा थोरै छौं ।
यो साहित्यसँग सम्बन्धित छ । संरचनात्मक संकट भनेको संरचनात्मक विषयलाई अन्तरसम्बन्धित ढंगले बुझ्ने भनेको हो । हाम्रो शरीरमा रोग हात, खुट्टा, नाक वा जुनसुकै अंगमा लाग्न सक्छ । तर केही यस्ता अंग हुन्छन् जहाँ लागेको रोगले सबै अंगलाई बिगारिदिन्छन् । संरचनात्मक समस्या भनेको यही हो ।
यस्तो समस्याको तत्कालको होइन, दिगो समाधान के हो ? सिटामोल खाए पनि तत्काल ज्वरो ठिक हुन्छ तर ज्वरो के कारण आयो भन्ने थाहा पाएर त्यसको दिगो निदान महत्वपूर्ण हुन्छ । हामीले दिगो समाधान खोज्नुपर्ने चारवटा प्रमुख संरचनात्मक समस्या छन् ।
नेपाली पहिचान
पहिलो, हाम्रो पहिचान हो । हामी को हौं ? नेपाल के हो ? हाम्रो प्रतिबद्धता कस्तो छ ? हामी नेपालीको ‘कोर भ्यालु’ के हो ? यो भनेको नेपालको राष्ट्रिय स्वाधीनता र सुरक्षाको प्रश्न हो । राष्ट्रिय राज्य बनिसकेपछि अहिले २०० भन्दा बढी देशहरू छन् । सुरुमा कुनै देश थिएन । जुनसुकै रूप-रंगका देखिए पनि एक लाख वर्ष पहिले हामी सबै अफ्रिकाबाट आएका हौं । यो पुष्टि भएको कुरा हो ।
हामी यो हिमालको फेदीमा किन आएर बस्यौं ? सबैतिर घुमेका सबै मानव जाति (रेस) हरू नेपालमा छन् । किनकि सबैभन्दा सुरक्षित ठाउँ नै यही थियो । खोला तर्न पनि मुस्किल हुन्थ्यो । हजारौं वर्ष हाम्रा पुर्खा खोरियामा बसे । त्यतिबेला चिन्तन मनन गर्नेहरू ऋषि मुनि र बुद्धहरू जन्मिए । तर हामी आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले पछाडि थिचिएर यो देशमा बस्यौं ।
त्यसैले नेपाल देशको आवश्यकता र औचित्य छ । भोलि पनि रहन्छ । त्यो बुझ्यौं भने देशप्रतिको माया र अपनत्वबोध हुन्छ र यसलाई बनाऊँ भन्ने भाव आउँछ । यो बुझेनौं भने अहिलेको अवस्था सिर्जना हुन्छ ।
लेखक रोबर्ट काप्लानले ‘द रिभेन्ज अफ जिओग्राफी’ नामको पुस्तक लेखेका छन् । उनले नेपालमा पनि घुमेर हेरेर लेखेका छन्, ‘यदि नेपाल सरकारले सुरक्षा क्षमता बलियो भएन नेपाल राज्य आफैं विस्तारै विलोप हुनसक्छ ।’ यो हालसालै लेखिएको किताब हो । यो निकै गम्भीर कुरा छ ।
तर, त्यस्तो होइन । नेपाल रहनुको खास आधार छ । पहिलो, हिमालको साउथ एशियन र युरेशियन प्लेटको बीचमा थिचिएर भूगर्भिक हिसाबले यो बन्यो ।
त्यसपछि हिमाल, पहाड, मधेससहितको नेपाल राज्य बन्यो र संसारका सबै जाति यहाँ जम्मा भयौं । हजारौं वर्षदेखि यहाँ बसोवास गरिरहेका छौं । यो दक्षिण एशियाको सबैभन्दा पुरानो राज्य भन्ने त छँदैछ, हामी संसारका सबैभन्दा पुराना २५ राज्यमध्येमा पनि हामी पर्छौं । हामी गर्व गर्छौं कि कहिल्यै उपनिवेश भएनौं । अंग्रेजले मायाले छाडेको होइन, लडेर नसकेर हो । त्यो क्षमता हामीसँग थियो ।
भूपि शेरचनले व्यङ्ग्यात्मक ढंगले लेखेका छन्- हामी वीर छौं तर बुद्धु छौं । बुद्धु छौं र त वीर छौं । तर हामी पहाडमा बस्ने ट्राइबल, जो आपसमा लड्नेभिड्ने परम्परा र स्वाभिमान थियो । गरिबै भए पनि भावनात्मक रूपले म हुँ, कमजोर छैनौं भन्ने सोच थियो । त्यसले गर्दा हामीले खुकुरी लिएर तोपसँग लड्ने साहस या दुस्साहस थियो । त्यसले हाम्रो पहिचान बनाएको हो । यसरी, नेपाल राज्यको औचित्य थियो, छ र रहन्छ । नेपाली बेकुप मानिस होइनन् । लडेर स्वाधिनता बचाएका हुन् र अहिले हामी आर्थिक, भौतिक, वैचारिक हिसाबले हामी पछि परेका छौं, आगामी दिनमा हामीले मेहनत गर्यौं भने यो देश बन्छ भन्ने विश्वास हामीले लिनैपर्छ ।
दोस्रो, हाम्रो मात्रै कुराले हुँदैन । विश्वको शक्ति सन्तुलनलाई ध्यान दिंदै, खासगरी क्षेत्रीय शक्ति सन्तुलनलाई ध्यान दिनुपर्छ । बिसौं शताब्दीलाई एशियन शताब्दी भनिन थालिएको छ । उत्तरमा चीन पहिलो र दक्षिणको भारत तेस्रो आर्थिक शक्ति बन्दैछ । अमेरिकाको पनि यहाँ सुरुदेखि चासो देखिन्छ । यी विभिन्न शक्तिहरूको हामी भूराजनीतिक चपेटामा छौं । यसको बीचबाट हामीले सही नीति लिन सकेनौं भने हामीले चाहे पनि, नचाहे पनि रोबर्ट काप्लानले भनेजस्तै स्टेट बिस्तारै विलोप हुनपनि सक्छ । तर हामी हुन दिंदैनौं । त्यसको निम्ति सही विचार, नीति, नेतृत्व र राजनीति, त्योभन्दा पहिले सही सोच हामीलाई चाहिन्छ ।
भारत, चीन र अमेरिकाको त्रिपक्षीय सम्बन्ध, खासगरी भारतसँग हाम्रो खुला सिमाना छ । भर्याङ जस्तो टिल्ट भएर उता बसेका छौं । सुगौली सन्धिदेखि यता हामी निरन्तर भारतको सेपमा परेका छौं । परनिर्भर सम्बन्ध बनेको छ । इलाम १९२० देखि चियामा औद्योगीकरण भएको जिल्ला हो । बजार किन पाउन सकिरहेका छैनौं ? यही परनिर्भर सम्बन्धका कारण हो ।
पूँजीवाद (बजार अर्थतन्त्र) को नियम भनेको जति ठूलो मात्रामा उत्पादन गर्छौं त्यति नै त्यो वस्तुको परल मूल्य कम हुन्छ र बजार मूल्य सस्तो हुन्छ । व्यापारीले सामान किन्ता कुनै राष्ट्रियता हेर्दैन । सस्तो र गुणस्तरीयता हेर्छ । भारतको अर्थतन्त्र अंग्रेजले गरेको औद्योगीकरणले अगाडि भए, हामी पछाडि भयौं । हाम्रो अर्थतन्त्र त्यहींदेखि डामाडोल भएर गयो । उद्योगधन्दा फस्टाउन सकेन । समस्या यहींनेर छ ।
पछिल्लो समय हाम्रो कृषि पनि किन त्यस्तो भयो ? कमसेकम कृषिमा त आत्मनिर्भर थियौं नि । यसमा पनि प्रतिस्पर्धा गर्न नसकेर खाद्यान्न, फलफूल र तरकारी उतैबाट किन मगाउन थाल्यौं ? उसले ठूलो स्केलमा उत्पादन गर्छ । राज्यले अनुदान दिन्छ । सस्तो छ । खुला सिमानाका कारण रोक्न सकिन्न, यता आउँछ ।
राज्य भएपछि सिमानाको रक्षा गर्नैपर्छ । यत्तिकै महत्वपूर्ण आर्थिक स्वाधीनता हो । यसलाई कसरी बलियो बनाउने ? हाम्रो राजनीतिक नेतृत्व बाहिर लड्ने भन्छन्, भित्र गएर लम्पसार परेर कुर्सी बचाउँछन् । तिनीहरू नै ठूला राष्ट्रवादी जस्ता देखिएका छन् । बीपी कोइराला, पुष्पलाल, बाबुराम भट्टराई जस्ता मान्छे जो अलि वस्तुवादी भएर आफ्नो देशको स्वाधीनता पनि बचाऔं तर वस्तुसंगत ढंगले सम्बन्ध पनि राखौं भन्यो भने त्यो दलाल भन्छ । एउटाले दलाल भन्छ, तपाईंहरू हाँस्नुहुन्छ, ताली पिट्नुहुन्छ । यही भइरहेको छ । यसैले हामी पछि परिरहेका छौं ।
अहिले पाखुरा सुर्किएर विरोध गर्ने, भोलि लत्रक्क परेर त्यतै जाने ! राणा शासनदेखि अहिलेसम्म हाम्रा शासकहरूले यस्तै गरिरहेका छन् । त्यसो नगरौं ।
केही दिन अघि एसडी मुनि आफ्नो एउटा पुस्तक सम्बन्धी कार्यक्रममा नेपाल आएका रहेछन् । त्यो कार्यक्रममा मैले बोलेको भिडियो प्रकाशन भएका छन् । हेर्नुहोला । इन्डियनहरूसँग आँखा जुधाएर आज नेपालमा कसले बोल्न सक्दो रहेछ ? बाबुराम भट्टराई मात्रै हो अहिले ।
पहिले बीपीहरूले गर्न सक्नुहुन्थ्यो, त्यही भएर उहाँ त्यहाँ (भारत) बाट लखेटिनु भयो र यहाँ आउनुपर्यो । पुष्पलाल पनि त्यही भएर ‘गद्दार पुष्पलाल’ भएरै मर्नुभयो । ११ जनामध्ये म मात्रै थिएँ उहाँको अन्त्यष्टिमा सहभागी हुने । बीपीलाई दलालै भनियो । उहाँहरू आँखा जुधाएर कुरा गर्नुहुन्थ्यो ।
हामीले तथ्यपूर्ण ढंगले हाम्रा छिमेकीहरूसँग सम्बन्ध राख्न सक्नुपर्छ । आगामी दिनमा भारत, चीन र अमेरिकाको बीचमा सन्तुलन गर्न सकिएन भने देश अफगानिस्तानमा जे भयो, गाजा र युक्रेनमा जे भइरहेको छ, त्यस्तै हुने खतरा रहन्छ । राम्रो सम्बन्ध राखेर देशलाई जोगाउन सकिन्छ । त्यसको लागि पहिले आन्तरिक एकता मजबुद बनाऔं । यो देश बन्छ भन्ने देशप्रतिको गर्भानुभूति गरौं ।
त्यसको निम्ति पहिलो, हिजोको हाम्रो नेपाल दुई ढुङ्गाबीचको तरुल भन्ने बिम्ब बदलेर तरुल होइन, दुई देश जोड्ने पुलको बिम्ब बनाऔं । सबैसँग जोडिने बिम्ब बनाऔं ।
दोस्रो, भारतसँग सकिन्छ भने लडौं र आफ्नो सीमा लिऔं । जनयुद्धको बेला एउटा सन्देश दिन हामीले सुरुङ युद्ध पनि सुरु गर्यौं । हामी झुक्दैनौं भन्ने सन्देश दिनका लागि थियो त्यो । तर त्यो जमाना गयो । त्यसरी सम्भव छैन । अहिले संवाद र वार्ताबाट अगाडि बढ्ने हो ।
त्यसैको निम्ति ईपीजी मार्फत् बसेर छलफल गरेर सीमा, आर्थिक, पारवाहन लगायतका समस्या हल गरौं र भारतसँग सम्बन्ध सुदृढ बनाऔं । मेरो भनाइ हो- नझुकौं, नभुकौं । वार्ता र संवादद्वारा सम्बन्ध ठिक बनाऔं । भारत, चीन र अमेरिका सबैसँग सन्तुलित सम्बन्ध बनाएर सबैतिरबाट पूँजी र प्रविधि यहाँ ल्याएर देशलाई समृद्ध बनाऔं ।
अब नेपालले युद्ध लडेर समय र शक्ति खर्च गरेर हुँदैन । आफ्नो सुरक्षाको निम्ति आधुनिक प्रविधियुक्त सानो तर चुस्तदुरुस्त सेना बनाऔं । इजरायल लगायतका देशले गरेजस्तै जनमिलिसिया भनेर आम जनतालाई नै लड्ने बनाऔं । आम जनतालाई फौजी तालिम दिएर मिलिसिया बनाऔं ।
सँगसँगै, हामीले ‘डाइनामिक प्यासिफिज्म’ अर्थात् गतिशील शान्तिवादको नीति लिऔं । स्वीट्जरल्याण्डले सुरुदेखि लिएको नीति जस्तै हामी लडाइँमा संलग्न नहुने ढंगको नीति लिऔं र नेपाललाई बुद्धको जन्मस्थलको बिम्बको रूपमा एउटा शान्तिको केन्द्र बनाऔं । यसरी गयौं भने देशको स्वाधीनता पनि बच्छ, सुरक्षा पनि हुन्छ र हाम्रो सम्मान पनि बढ्छ । संरचनात्मक सुधार गरेपछि हाम्रो अर्थतन्त्र पनि बलियो हुन्छ । यहाँ उद्योग लगायतको पनि संरक्षण हुन्छ ।
राजनीति
देश बनाउन राजनीति सही हुनुपर्छ । नयाँ पुस्तामा कतिपयले बाबुराम भन्नासाथ १७ हजार भन्नुहुन्छ । मलाई कहिले हाँसो उठ्छ कहिले दिक्क लाग्छ । न्यून स्तर, कति कमजोर आईक्यू भनेर पीडा हुन्छ । फ्रान्सेली क्रान्तिमा कति मानिस मारिएका थिए ?
सामन्तवाद अर्थात् राजतन्त्रको अन्त्य गर्दा भएका विद्रोहमा कति वर्ष लडाइँ भए ? कति लाख मान्छे मारिए ? बेलायतमा के भएको थियो ? संसद र राजाबीच लडाइँ भएको हो कि होइन ? सन् १६४० देखि १६४८ सम्म कति लाख मानिस मारिएका थिए र राजा चार्ल्सको टाउको काटिएको थियो ? पछि मात्रै बेलायतमा बेल्जियमबाट राजा खोजेर ल्याएर राखेका हुन् ।
अब्राहम लिंकनकै पालामा १८६१ देखि १८६५ सम्म अमेरिकी स्वतन्त्रता संग्राममा १० लाख मानिस मरेका थिए । बल्ल त्यहाँ सामन्तवाद र दासप्रथाको अन्त्य भयो । त्यसपछि पूँजीवाद र औद्योगीकरण भएर अहिलेको अमेरिकाको जग बस्यो । पछि रुस र चीनमा भएका क्रान्तिको त कुरै छाडिदिनुस् ।
तपाईं नेपालमा २१औं शताब्दीको सुरुमा पनि आएर सामन्ती निरंकुश राजतन्त्र थियो, त्यसैको पाउ चढाउनुहुन्छ, त्यहीं गएर लम्पसार परेर दण्डवत गर्नुहुन्छ, अनि देश बन्छ ? यसलाई भत्काउनै पर्थ्यो, यसविरुद्ध विद्रोह गर्नैपर्थ्यो । हामीले यहाँका जनतालाई लिएर विद्रोह गरेकै हो । कि त सुगौली सन्धिअघि भौगोलिक एकता गर्ने चरणमा सम्पूर्ण जनता उद्वेलित भएका थिए, त्यसरी नै दोस्रोचोटि यो लोकतन्त्रलाई बीपी, पुष्पलालहरूले २००६ सालदेखि सुरु गरेको प्रक्रियालाई पूर्णतामा पुर्याउनका निम्ति हामीले जनयुद्धको तरिकाले विद्रोह संगठित गरेकै हो ।
पछि भूराजनीतिक जटिलता बढ्यो र बाह्य हस्तक्षेपको जोखिम बढेसँगै त्यसलाई ध्यान दिंदै हामी यहाँका दलहरूसँग मिलेर १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रिया हुँदै संविधानसभाबाट संघीय लोकतन्त्र स्थापना गरेकै हो ।
फ्रान्सले २०० वर्ष अघि, अमेरिकाले डेढ सय वर्ष र चीन-रुसले सय वर्षअघि गरेको काम हामीले ढिलो गर्यौं । क्रान्ति ढिला भएको हो, गलत थिएन । नयाँ पुस्ताले इतिहास पढ्नुस् । १७ हजारको बलिदानी भयो । आमाले बच्चा जन्माउँदा पनि रक्तश्राव हुन्छ ।
तर त्यो क्रान्ति अपूर्ण थियो । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनु सही थियो । त्यसैको जगमा जनता अधिकारसम्पन्न भएर मात्रै विकास र समृद्धि हुन्छ । गरिबी र बेरोजगारीकै कारण हाम्रा युवाहरू पलायन भइरहेका छन् । उनीहरूलाई देशमा रोक्न जनता अधिकारसम्पन्न हुनुपर्थ्यो । हामीले एकहदसम्म अधिकारसम्पन्न बनायौं । तर त्यसलाई पूर्णतामा पुर्याउन सकिएन ।
नयाँ पुस्ताले पछिल्लो समयलाई मात्र जोड दिइरहेका छन् । तर इतिहासको कडीलाई जोडेर हेर्नुपर्छ । न्यूटन भन्थे- मैले म अग्रज महामानवहरूको काँधमा चढेर मात्र परसम्म देख्न सकेको हुँ । अग्रजलाई ‘प्याग्मी’ (वामपुड्के) बनाएर तपाईंहरूले टाढासम्म देख्न सक्नुहुन्न । हामी जायन्ट हौं, हाम्रो काँधमा टेकेर मात्र परसम्म जान सक्नुहुन्छ । देश बनाउँछु भनेर आउनुभएका नयाँ पुस्ताका साथीहरूले अग्रजलाई होचो बनाउनुभयो भनेर हाम्रो काँधमा चढेर तपाईं अग्लिन सक्नुहुन्न । बाँकी काम पूरा गर्ने अभिभारा नयाँ पुस्ताको हो ।
त्यही भएर नयाँ संविधान जारी भएको एक हप्तामै म पुरानो पार्टी छाडेर निस्किएँ । यो संविधान आधा गिलास भरी, आधार खाली भनें । शासकीय स्वरूप त्रुटिपूर्ण छ जसले स्थिरता दिंदैन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको प्रणाली र पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित संसदमा जाऔं भन्दै आएको छु । समानुपातिक तर प्रत्यक्ष निर्वाचित भनेको महिलाले महिलासँग, दलितले दलितसँग, जनजाति जनजातिसँग र मधेसी मधेसीसँग प्रतिस्पर्धा गर्ने व्यवस्था ।
यसबाट बन्ने पूर्ण समानुपातिक संसद नियम कानुन बनाउन केन्द्रित हुन्छ । अहिलेको स्थानीय तहजस्तै प्रत्यक्ष निर्वाचनबाट मुख्यमन्त्री र राष्ट्रपति चुन्दा उनीहरूले विज्ञहरूलाई लिएर मन्त्रीमण्डल बनाउँछ र ५ वर्ष मज्जाले काम गर्न पाउँछ । यसबाट नियम कानुन पनि राम्रा बन्छन् र विज्ञ रहेको कार्यकारीले ढुक्कसँग ५ वर्ष सरकार चल्छ । राजनीतिक स्थिरताको यो मोडेल भनेकै हो तर गर्न सकिएन । संविधान निर्माणको क्रममा अन्तिम दिनसम्म यही भन्दै आएँ । त्यही भएर संविधान अपूर्ण छ भनेको हुँ ।
संविधानमा राइट टु रिकल र नो भोट जस्ता विषय पनि थप्नुपर्छ नै । साथै, संघीयता पनि महत्वपूर्ण विषय हो । नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा, जसरी युरोपले बेलैमा नेसन स्टेटको अवधारणा ल्याएर वेस्ट फेलिया सन्धिपछि भाषिक आधारमा राष्ट्रिय राज्य बनाएर हल गर्यो । अरु विभिन्न देशहरूले आआफ्नो ढंगले हल गरे । हामीले गर्न सकेका थिएनौं । लोकतान्त्रिक क्रान्ति सँगसँगै हल हुने विषय हो संघीयता र जातीय मुक्तिको प्रश्न ।
त्यसैले ढिलै भए पनि संघीयतामा जाने निर्णय सही थियो । राज्य पुनर्संरचना आयोग र समितिले दिएको प्रतिवेदन पनि ठिक थियो । त्यसको मुख्य भाष्यकार मै हुँ । यद्यपि यो अन्यत्रबाट पनि उठेकै थिए । तर सुविचारित ढंगले माओवादी जनयुद्धकै बेलादेखि विभिन्न प्रदेशमा बाँडफाँड गरेर पहिचान र अधिकारको आधारमा प्रदेशहरू बनाउन सुरु गरेको हामीले हो । म त्यतिबेला संयुक्त राष्ट्रिय जनपरिषद्को अध्यक्ष थिएँ र सबै अवधारणा मैले नै ड्राफ्ट गर्थें । पछि त्यसलाई कार्यान्वयन गर्ने बेला लड्खडायो । कहीं न कहींबाट त्यो बिग्रियो र हामीले हाँस र कौवाको चाल भने जस्तो, अथवा ऊँट जस्तो संघीयता बनायौं, त्यसले असन्तुष्ट बढेको छ ।
यसमा दुईथरी अतिवादी प्रवृत्ति देखिएका छन् । पहिलो, शासक जातीय अहंकारवाद । आफ्नो भाषा, भेष जबरजस्ती लाद्ने । मलाई हाँसो पनि उठ्छ, हिजो दौरा सुरुवाल लगाउँदा हुन्छ भन्दा लगाउनै हुन्न भन्ने हाम्रा साथीहरू अहिले सत्तामा पुगेपछि सुत्दा पनि दौरा सुरुवाल लगाउँछन् । हाम्रो देशमा रहेको विभिन्न भाषा, संस्कृति र पहिचानलाई हामीले किन सम्मान नगर्ने ? के बिग्रन्छ ? यहाँको नाम लिम्बुवान नै थियो, सम्झौता गर्दा पनि यही भनिएको थियो । त्यो नाम राख्न नहुने । यसमा अल्झिंदा अनावश्यक रूपमा समय र शक्ति खर्च भएको छ ।
दोस्रो, उत्पीडित जातिमा पनि संकिर्णजन्य रिस र आक्रोश देखिन्छ । विवेकले सोच्नेभन्दा आक्रोशले अलग्गै भएर हिंडिदिन्छु, छुट्टिन्छु भन्ने पृथकतावादी र संकिर्णवादी यी दुवै खाले प्रवृत्तिबाट बच्नुपर्छ ।
लेनिनले तीनवटा सुत्र भन्ने गर्थे- सबै जातिहरूको समानता, उत्पीडित जातिहरूको आत्मनिर्णयको अधिकार र सबै जातिहरूका श्रमिक अर्थात् प्रगतिशील जनताबीचको एकताले मात्र यो समस्या हल हुन्छ ।
हामीले पनि यही बाटो लिनुपर्छ । संविधानसभाको समितिको प्रतिवेदन र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनले भनेअनुसार पहिचानका ५ र सामर्थ्यका ४ आधारमा टेकेर राज्यको नयाँ ढंगले पुनर्संरचना गरौं । संघीयताका समस्या हल गरौं । अहिले प्रदेशको नाम मिलाएर राख्दा के बिग्रन्छ ?
१० प्रदेश हुनुपर्थ्यो, कांग्रेस र एमालेका साथीहरूले मान्दै मान्नुभएन । प्रचण्डले पनि हातखुट्टा छाडिदिएपछि ठिकै छ, ६/७ प्रदेशमा जाऔं भनेकै हो । तर त्यो संयुक्त प्रदेश भनेको हो । एक नम्बर प्रदेश भनेको तत्कालीन माओवादीको भाषामा भन्दा लिम्बुवान-किरात-कोचिला हो । ३ नम्बर प्रदेश नेवा-ताम्सालिङ हो । २ नम्बर मधेस ठिकै छ । ४ नम्बर प्रदेशलाई तमुवान-मगराँत भनेको हो । पश्चिमको खसान भन्नुस् वा कर्णाली भन्नुस्, हामीलाई आपत्ति छैन । र, उता पश्चिममा थारुवान भनेको हो । यो भन्दा के बिग्रन्छ ? जबरजस्ती अर्काको भावनामा कुठाराघात गरिदिने ? बल मिच्याइँ गर्दिने, अनि मानिसले विद्रोह गर्दैनन् ? पटक पटक यो घाउ अल्झाएर हामीलाई के अर्थ हुन्छ ? यसलाई हल गरेर अगाडि बढ्नुपर्छ ।
यो जातिवाद होइन । म खसआर्य भएर जन्मिएँ, यो मेरो गल्ती हो र ? तपाईं तपाईंको इच्छाले लिम्बु भएर जन्मनुभएको होइन । जन्म संयोग हो । अग्रगामी, प्रगतिशील र न्यायको पक्षपातीहरू एक ठाउँमा उभिएर संघीयताको प्रश्न हल गरौं ।
सुशासन
भ्रष्टाचारको समस्या त्यस्तै छ । एउटा औंला अरुतिर देखाउँदा आफूतिर बाँकी औंला सोझिन्छन् । अनेकौं काण्ड आएका छन् । हिजो ज्यान हत्केलामा हालेर हिंड्ने, मलाई अग्रपंक्तिमा गएर लड्न दिएन भनेर रिसाउने साथीहरू अहिले सुनका भरिया बन्दै हिंडेका छन् । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?
म यसविरुद्ध लडेकोले मलाई थाहा छ, अहिले देखिएको केवल हात्तीको देखाउने दाँत मात्रै हो । देशमा किन भ्रष्टाचार बढ्यो ? हामी उत्पादनतिर जोडिएनौं । हामी खाली सत्तामा जाने र राज्यको दोहन गर्ने प्रवृत्ति नै बन्यो । ठूलाले अरबौंको भ्रष्टाचार गर्ने, मध्य खालकोले करोडको र तलकाले हजार र लाखमा भ्रष्टाचार गर्ने प्रवृत्ति नै बन्यो । अनि अर्कालाई दोष देखाएर हिंड्ने ? को चोखो छ यहाँ ? लाख नखाने, हजार नखाने कोही हुनुहुन्छ ? तपाईंका नेताले अरब खाएको छ, तपाईंलाई हजार र लाख दिएको छ ।
हामीलाई संरचनात्मक सुधार चाहिएको यहींनेर हो । त्यसको निम्ति हाम्रो कर्मचारीतन्त्रलाई पनि सुधार गरौं । न्यायालयलाई सुधारेर स्वायत्त र अधिकारसम्पन्न बनाऔं ।
सबैभन्दा महत्वपूर्ण कुरा, एउटा अधिकारसम्पन्न, स्वायत्त जनलोकपालको व्यवस्था गरौं । आफैं अधिकारसम्पन्न र स्वायत्त हुने यस्तो लोकपालले राष्ट्रपति, प्रधानमन्त्री हुँदै सबैलाई छानबि गर्न सक्छ । यो कुरा मैले संसदबाटै बोलेको छु र पटकपटक दोहोर्याएको छु । मै बाट सुरु गर्नुहोस् यो छानबिन ।
संस्कार र संस्कृतिको कुरा पनि सही हो । पहिला हामीले श्रमलाई सम्मान गर्न सिक्नुपर्छ । श्रम गरेर, आफैंले आर्जन गरेर खान मात्रै आनन्द मानौं न । आफूले नगरी, मागेर, चोरेर ल्याएको चिज खाँदा हामी खुसी हुन्छौं भने भ्रष्टाचार कसरी रोकिन्छ ? यो भावनात्मक र सांस्कृतिक पक्ष हो । लोकतन्त्रको सवलीकरण र सुशासनको क्षेत्रमा गर्नुपर्ने संरचनात्मक सुधार जरुरी भइसकेको छ ।
आर्थिक विकास र समृद्धि
बजार कट्टरपन्थ (मार्केट फण्डामेन्टालिज्म) र राज्य कट्टरपन्थ (स्टेट फन्डामेन्टालिज्म) दुवैबाट मुक्त अर्थतनीति हामीले बनाउनुपर्छ । बजारलाई सबैकुरा छाडिदने भनेको त भारतको बजारलाई सबै कुरा छाडिदिने भनेको हो । किनकि हाम्रो बजार त बनेकै छैन । आफ्नो बजारलाई सुरक्षा नदिइकन बजारलाई सबै कुरा छाड्ने भनेको भारतीय अर्थतन्त्रलाई सबै छाडिदिने भनेको हुन्छ ।
निजी क्षेत्रलाई प्रश्रय दिनुपर्छ तर राज्यले नियमन गरेर आफ्नो अर्थतन्त्रलाई राज्यले संरक्षण गर्नुपर्छ । उदारवादी कांग्रेसले त्यतातिर ध्यान दिनुपर्यो । बजार कट्टरपन्थको सम्मोहनबाट मुक्त हुनुपर्छ । अर्को पक्षले पनि कम्युनिष्ट खोल धेरै नबोक्नुस् । यो खोल जहिलेसम्म बोक्नुहुन्छ, कालभैरवको ठूलो मुकुन्डो देखेर मानिस त्यसै तर्सिन्छन् यद्यपि त्यो मुकुन्डो मात्र हो । कम्युनिष्ट भन्नुहुन्छ, कम्युनिज्म भनेको निजी सम्पत्तिको अन्त्य हो । कि यसको अर्को परिभाषा गर्नुस् । कम्युनिष्ट घोषणापत्र खराब छ, मार्क्सले लेखेको बेठीक भन्ने आँट गर्नुस् । उनले त कम्युनिज्म भनेको एक वाक्यमा निजी सम्पत्तिको उन्मुलन भनेका छन् । कम्युनिष्ट भनिराख्ने र अर्कै गर्ने भइरहेको छ ।
लोकतन्त्रको हकमा सर्वहारा अधिनायकत्व अर्थात् दुइटा वर्ग हुँदा पो पूँजीपतिले मात्र शोषण गरेको हुनाले सर्वहाराले आफ्नो अधिनायकत्व लागु गर्ने भनिएको थियो । अहिले त बहुवर्गीय समाज छ । उत्पादन प्रणालीका फरक फरक रूपहरू अहिले आइसके । यस्तो एउटा वर्गको अधिनायकत्व भन्ने हुँदैन ।
कम्युनिज्म एउटा महान आदर्श हो । म आफैं त्यही पढेर, मार्क्सबाट प्रभावित मान्छे, म अहिले पनि मार्क्सलाई आफ्नो गुरु मान्छु । तर समयानुकूल विकास गर्नुपर्छ भन्ने मान्यता बोक्छु । अब त्यो राज्यले सबै नियन्त्रण गर्ने भन्ने कम्युनिष्ट अर्थ लागु गर्न सम्भव छैन । कहीं पनि सम्भव भएन । चीन आफैंले राज्यभन्दा बजारलाई दिइरहेको छ । संसारका सबैभन्दा बढी खरबपति चीनमा रहेछन् । बेइजिङमा मात्र ११९ जना खरबपति रहेछन् । न्यूयोर्कमा जम्मा १०५ जना रहेछन् । तेस्रो स्थान, सांघाइमा ९५ जना खरबपति रहेछन् । चीन नै त्यता गइसक्यो ।
चीन त एकदलीय सत्ता भएको हुनाले त्यसो गरिरहेको छ । कि त नेपालका कम्युनिष्टहरूले पनि भन्नुपर्यो, एकदलीय सत्ता चलाउँछु । लड्नुस्, ल्याएर चलाउनुस् । म त त्यस्तो हुने सम्भावना देख्निनँ । ल्याउनुभएछ भने मानौंला । बहुदलीय प्रतिस्पर्धा नै गरेर जाने हो भने त्यो बाटोबाट नेपालका कम्युनिष्ट हिंड्ने ओरालो यात्रा मात्रै हो ।
युरोपका कम्युनिष्टहरू यही भन्दाभन्दै सक्किए । नत्र इटली, फ्रान्स र स्पेनमा केही वर्ष पहिले कम्युनिष्टहरू राम्रै संख्यामा थिए तर अहिले हराए । सत्तै ढलेका पूर्वी युरोपका कुरा छाडिदिनुस् । हाम्रै छिमेकमा कम्युनिष्टले ३३ वर्ष शासन गरे, खोइ अहिले ? हाम्रोमा पनि त्यस्तै हुने खतरा छ ।
ओलीजी र प्रचण्डजीलाई म यही भनिरहेको छु । उहाँहरू होइन भन्न सक्नुहुन्न । तपाईं नेता कार्यकर्ताले पनि उहाँहरूलाई प्रश्न गर्नुपर्छ । उहाँहरूले मसँग भन्नुहुन्छ, ‘तपाईंले भनेको ठिकै हो । दुई चार वर्ष भोटको आधार त्यही छ । कार्यकर्तालाई भनिहालियो । नत्र अहिले कम्युनिष्ट एमाले भन्ने छाड्दा भोट आउँदैन ।’ ए बाबा ! अहिले त भोट दिएका छन्, पछि के हुन्छ ? दश वर्ष, २० वर्षपछि के हुन्छ ? के भनेर जानुहुन्छ तपाईं ?
यहाँ मैले दर्शनको विरोध गरेको होइन । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, सामाजिक न्याय र समानताको मैले विरोध गरेको होइन । तर आर्थिक विकास र समृद्धिको निम्ति कम्युनिष्ट नाम राखेर आचरण गर्न नसकिने कुरा गर्दा अन्तरविरोधमा फसिन्छ । त्यसो नगर्नुहोस् । बजार, राज्य र समुदाय यी तीन क्षेत्रको सम्मिलनबाट जाने नै अबको युगको अर्थतन्त्रको बाटो हुन्छ । नेपालले त्यसलाई अपनाउनुपर्छ ।
अब के ?
आर्थिक विकास र समृद्धिका लागि हामीले पछ्याउनुपर्ने दुइटा विकल्प छन् । भारत र चीन जस्ता दुइटा ठूला अर्थतन्त्रको बीचमा छौं । दुवै देशलाई मिलाएर दुईबीचको गतिशील पुल हुने ढंगले दुवै देशको मूल्य शृङ्खलासँग जोडिएर दुवैतिरको लगानी र प्रविधि ल्याउनुपर्छ । ठूला उद्योग खोल्नुपर्छ र उत्पादन बढाउनुपर्छ । कृषिको आधुनिकरण गर्नुपर्छ । पर्यटन प्रवर्धन गर्नुपर्छ । ठूलाठूला पूर्वाधार बनाउनुपर्छ ।
दक्षिणपट्टि भारतबाट पूँजी र प्रविधि ल्याएर उत्पादन बढाउँदै भारततिरै निर्यात गर्ने र उत्तरपट्टि चिनियाँ पूँजी र प्रविधि ल्याएर वस्तु र सेवा उत्पादन गरेर चीनतिर निर्यात गरेर देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ । देश सम्पन्न बनाउने यो आधुनिकतावादी बाटो हो । छिटो गर्ने बाटो । यसको निम्ति भारत र चीनको सम्बन्ध नमिलाएसम्म गाह्रो छ ।
यदि यो सकिंदैन भने अर्को मिश्रित बाटो छ । त्यो भनेको कृषिको वैज्ञानिक ढंगले आधुनिकीकरण गरेर खाद्यान्नमा आत्मनिर्भर भएर खाद्य सुरक्षा गर्ने र जलस्रोत लगायतका ऊर्जाको प्रयोगबाट ऊर्जा पनि आत्मनिर्भर बन्नुपर्छ । खाद्य र ऊर्जामा आत्मनिर्भर बन्दै पर्यटन लगायतको विकासबाट अन्तरमुखी खालको अर्थतन्त्र विकास गर्नुपर्छ ।
ज्ञानमा बाहिरी दुनियाँसँग जोडिनुपर्छ ज्ञान अर्थतन्त्र र पर्यटन लगायतका विषयमा । अन्य विषयमा आन्तरिक रूपमा हामी केन्द्रित भएर जाने हाम्रो दोस्रो बाटो हुनुपर्छ । म यसलाई सम्वर्द्धनवादी आधुनिकतावादी (क्रिटिकल मोडर्निस्ट) बाटो भन्छु ।
तर हाम्रो प्रतिव्यक्ति आय १४ सय डलर कायम राखेर सन् २०३० सम्म मध्यमस्तरमा र २०४० सम्म विकसित देश बनाउन सकिंदैन । अहिलेको हाम्रो ३/४ प्रतिशतको वृद्धिदरलाई कम्तिमा दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर (१८-२० प्रतिशत) हासिल गर्न सक्दा मात्र हामी आगामी २०४० सम्म विकसित देश बन्न सक्छौं ।
अहिलेकै वृद्धिदरले आउँदो ५० वर्षसम्म पनि त्यो तहसम्म पुग्न सक्दैनौं । यसको लागि विदेशी पूँजी ल्याउनुपर्छ । त्यसको निम्ति हामीले प्रत्येक वर्ष हाम्रो कूल ग्राहस्थ उत्पादनको ४० प्रतिशत (२० खर्ब) प्रतिवर्ष विकास खर्च गर्नुपर्छ । तर यहाँ ३/४ खर्ब खर्च गर्न नसकेर/नपाएर बेहाल छ । यो योजना बनाएको खोइ ?
यी सबै कामको लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति मार्फत् राष्ट्रिय राजनीतिक स्थिरता कायम गरौं । त्यही अन्तर्गत बलियो राष्ट्रिय विकास प्राधिकरण देश विदेशका विज्ञहरू ल्याएर अबको २० वर्षमा विकसित तहमा पुर्याउने मार्गचित्र बनाऔं । यसलाई संघदेखि स्थानीय तहले कार्यान्वयन गरे देश बन्छ ।
यसको लागि दल र राजनीतिको पुनर्संरचना गर्नुपर्छ । अन्ततः लोकतन्त्रमा काम गर्ने दलहरू, राजनीतिक नेतृत्व र सही विचारले नै हो । हिजोको पहिलो औद्योगिक क्रान्तिताकाको विचार अर्थात् स्वतन्त्रता, समानता र भातृत्वलाई मुख्य आधार बनाएर प्रबोधनको विचार आविस्कार गरिएको थियो । कांग्रेसले स्वतन्त्रतालाई जोड दिएर गयो भने कम्युनिष्टहरूले समानतालाई जोड दिए ।
त्यसको निम्ति २१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिको युगमा पूँजीवाद पनि पूँजीवाद जस्तो छैन । किनकि स्वतन्त्रताले मात्र हुँदैन, समानता चाहिन्छ । खुल्ला बजारले असमानता ल्यायो भन्ने ठाउँमा ऊ पुगेको छ । सबैलाई बराबर बाँढ्छु भन्दा समानतावादीहरूले उत्पादन नै बढाउन सकेनौं । बराबर त भयौं तर गरिबी बाँढ्ने । त्यसैले यहाँ प्रतिस्पर्धा पनि चाहिने रहेछ । यो नै अहिलेको पछिल्लो ज्ञान विज्ञानको आविस्कार हो । त्यसैले स्वतन्त्रता, समानता, समभाव र समृद्धि सहितको नयाँ विचार अबको आवश्यकता हो । त्यसलाई न्वारान गरौं । मैले यसलाई समुन्नत समाजवाद भनेको छु । कतिपयले यसलाई प्रोग्रेसिभ डेमोक्रेसी भन्नुभएको छ । कतिपयले सहभागितामूलक समाजवाद भन्नुभएको छ ।
नाम जे दिए पनि अबको आवश्यकता यही हो । नेपालमा पनि कम्युनिष्ट र कांग्रेसहरूले बहस गरून् । पुरानो रूपले मात्रै अब हुँदैन । सक्नुहुन्छ, तपाईंहरू रुपान्तरित हुनुस् र आफैं वैकल्पिक शक्ति बन्नुहोस् । सक्नुहुन्न भने नयाँ वैकल्पिक शक्ति आउँछ । तिनीहरूले यो समुन्नत समाजवाद वा प्रोग्रेसिभ डेमोक्रेसीको आधारमा वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ । तब मात्र राष्ट्रियता स्वाधिनतासँगै आर्थिक रूपान्तरण, राजनीतिक स्थायित्व र सुशासनको लक्ष्य भेट्न सकिन्छ । यसको लागि नेतृत्व भने सही हुनैपर्छ ।
बीपी, पुष्पलाल हुँदै हाम्रो पालासम्म लोकतन्त्रका लागि लड्ने युग थियो । त्यसले त्याग र बलिदानयुक्त नेता खोज्थ्यो । अबको नेतृत्वमा त्याग र बलिदानसँगै आजको ज्ञानविज्ञान बुझ्ने सैद्धान्तिक र व्यवहारिक कुशलता भएको एउटा नेता हामीलाई चाहिएको छ । व्यवहारिक नेता व्यवस्थापक हुन्छ । सैद्धान्तिक नेता थिंकर मात्रै भएर बस्छ । त्यसैले हामीलाई सोच्ने र गर्ने अर्थात् सिद्धान्त र व्यवहारमा पोख्त, स्टेटम्यानसीप भएको नेता चाहिएको छ ।
यसका निम्ति हामी नेपालीले हिनताबोध त्यागेर सपना देखौं । सपना देख्यौं भने मात्र विपनामा परिणत हुन्छ । प्रसिद्ध कलाकार माइकल एन्जेलो भन्नेगर्थे- म सपनामा पेन्टिङ देख्छु र त्यही सपना पेन्टिङ गर्छु । हामीले पनि समुन्नत, समृद्ध, खुसी र स्वाधीन नेपालको सपना देखौं । त्यसलाई व्यवहारमा परिवर्तन गरौं ।
(१७ चैत, २०८० मा इलाम साहित्य महोत्सवमा व्यक्त विचारको सम्पादित अंश)