अलमलमा अख्तियार, ओझेलमा टेरामक्स



काठमाडौँ। दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता आरोप लागेका बहालवाला मुख्यसचिव, सचिवदेखि तत्कालीन मन्त्रीसम्मका व्यक्तिविरुद्धको अनुसन्धान टुंगिए पनि मुद्दा दायरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलमल गरेको छ।

टेरामक्स प्रकरणमा करिब एक वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारका प्रमुख प्रेमकुमार राई १५ फागुनमा संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित भएर निष्कर्ष आउनै लागेको बताएका थिए। तर, अख्तियार अझै निष्कर्षविहीन छ।

अख्तियारले तत्कालीन सञ्चारमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन सञ्चार सचिवद्वय वैकुण्ठ अर्याल र महेन्द्रमान गुरुङ, सञ्चार मन्त्रालयकै तत्कालीन सहसचिव विनोदप्रकाश सिंह, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललगायतसँग बयान लिएको छ ।

बस्नेत र कार्की कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य हुन्। अर्याल अहिले नेपाल सरकारका मुख्यसचिव छन् । गुरुङ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र तत्कालीन सहसचिव सिंह अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुन् । यति धेरै पहुँचवालाहरू जोडिएको प्रकरणमा अख्तियार आफैं अन्योलमा परेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।