नेपालद्वारा आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित



काठमाडौं। नेपालले मंगलबार दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराउँदै दुई खेलको सिरिज जित्न सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।
गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रन जोडेपछि नेपाल २ सय रन नजिक पुगेको थियो ।

१९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रनमा अल आउट हुन पुग्यो । नेपालका सोमपाल कामी र कुशल मल्लले ३–३ विकेट लिए ।

सोमपाल कामीले १९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई बोल्ड र अर्को बलमा बेन ह्वाइटलाई २ रनमा कट एण्ड बोल्ड आउट गरे । तेस्रो बलमा ग्यारेथ डेलानी नन स्ट्राइकमा १५ रनमा रन आउट हुन पुगेपछि आयरल्यान्ड अल आउट भएको थियो ।