ओली र प्रचण्डबीच भेट, कर्णालीको विषयमा मतभेद



काठमाडौँ। सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्वबारे छलफल बाक्लिन थालेको छ । केहीदिन यता सत्ता गठबन्धनका नेताहरू प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् ।

छलफलअनुसार गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे कर्णालीबाहेक अन्य सबै प्रदेशमा मोटामोटी भागबण्डा टुङ्गिएको नेताहरूको भनाइ छ । तर कर्णालीमा भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीचमा जबरजस्त दाबी देखिएपनि निष्कर्ष निस्किन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रकै नेताहरूले कर्णालीको नेतृत्व नछाड्न दबाब दिएका छन्। पार्टीको सबैभन्दा राम्रो जनाधार भएका क्षेत्र भएकाले पार्टीले कर्णाली छाड्न नहुने सो क्षेत्रका नेताहरूकाे भनाइ छ ।

तर, एमालेले पनि आफ्नो दाबी गर्दै आएको सन्दर्भमा सहमति जुटाउन सकस परेको बताइएको छ । एमालेले यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन चाहेको छ भने माओवादीका केही नेताहरूले वर्तमान सरकारलाई नै निरन्तरता दिन चाहेका छन् ।

पार्टीभित्रको यही दबाबका बिच मंगलबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको छ । भेटमा कर्णालीको विषयमा छलफल भएपनि ठोस सहमति जुट्न नसकेको बालुवाटार स्रोतको भनाइ छ । यही विषयमा गठबन्धनभित्र थप छलफल गरेर निर्णयमा पुग्नेगरी मंगलबारको बैठक सकिएको छ ।

यस्तै बुधबार माओवादीले सचिवालयको बैठक बोलाएको छ । सो बैठकमा कर्णालीको विषयका साथै विविध विषयमा छलफल हुने एक नेताले बताए ।

कर्णाली सरकारबारे मंगलबार कर्णालीका इन्चार्ज कालिबहादुर मल्लले प्रचण्डलाई पार्टीलाई ध्यानाकर्षण गराउन चाहेपनि उनलाई प्रचण्डले भेट नदिएको एक नेताले बताए । तर, यो विषयमा बुधबारको बैठकमा कुरा उठ्ने ती नेताको भनाइ छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीमा पार्टीको नेतृत्व स्वाभाविक भएको बताए ।  ‘माओवादीको दशैभर जनाधार भएको क्षेत्र कर्णाली हो । त्यहाँ अध्यक्षले अन्य पार्टीलाई छाड्नुहुन्न भन्ने विश्वास छ’, उनले भने ।

सत्ता गठबन्धनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिएर कोशी, लुम्बिनी र गण्डकी एमालेले लिने गरी छलफल भएको छ । यस्तै मधेस प्रदेशमा जसपाको नेतृत्वमा सहमति जुटेपनि कर्णालीको हकमा भने विवाद देखिएका हो । यो विषयमा माओवादीको आन्तरिक बैठकपछि थप छलफल गरेर टुङ्गोमा पुगिने बताइएको छ ।