३५ वर्षे कम्युनिष्ट नेता गेब्रियल चिलीको राष्ट्रपतिमा निर्वाचित



काठमाडौँ। ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन्।

कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। सन् २०११-१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए।

त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उनी संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए। सन् २०१७ मा पनि उनी अघिल्लो पटकको भन्दा धेरै मतसहित विजयी भए। हाल उनी प्रगतिशिल सोशल कन्भर्जेन्स पार्टीका सदस्य हुन् जो संसदमा वाम पक्षधरको ब्राड फ्रन्ट ब्लकको एक हिस्सा हो।