केपी ओलीले मृत्युका आँसु बेचे: घनश्याम भुसाल



काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन्।

शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो।उपाध्यक्ष रावलले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

उनले आफू अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने समेत बताए। बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए। त्यसलगत्तै वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो।

अर्का नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाममा मृत्युको आँसु बेचेको प्रतिक्रिया दिएका छन्। एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए। उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन्। बन्दसत्र आइतबार १० बजे पुनः सुरु हुनेछ।