मनसुन बाहिरिएपछि झनै ठूलो वर्षा: १४ जनाको मृत्यु, ३४ बेपत्ता, करिब १४ सय परिवार विस्थापित



काठमाडौं। मनसुन बाहिरिएपछि परेको अविरल वर्षाका कारण देशभर १४ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको वर्षासँगै आएको बाढी र पहिरोमा परी ३४ जना बेपत्ता भएका छन् भने १४ सय परिवार विस्थापित भएका छन्।

सबैभन्दा धेरै डोटीमा नौजनाको मृत्यु भएको छ। जोरायल गाउँपालिकामा ६, सायल गाउँपालिकामा दुई र शिखर नगरपालिकामा एकजनाको मृत्यु भएको हो। पहिरोले घर भत्काउँदा च्यापिएर जोरायल-३ का ६२ वर्षीय जोगी सार्की र उनकी श्रीमती ६१ वर्षीय झुपारी सार्कीको मृत्यु भएको छ। वडा नम्बर ४ का ४२ वर्षीय शेरबहादुर विक, उनका छोराहरू १८ वर्षीय मोहन र १६ वर्षीय रविन तथा १३ वर्षीया छोरी पवित्रा विकको ज्यान गएको छ।

सायल-६ खातिवडाको अलैतवडाका १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिष कुन्जेडाले पनि पहिरोका कारण ज्यान गुमाएका छन्। उनीहरू सबै सुतिरहेका वेला आएको पहिरोमा परेको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए। त्यस्तै, शिखर नगरपालिका-११ की ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुंगाले लागेर मृत्यु भएको छ।

सुनसरी र डडेल्धुरामा दुई-दुई तथा कालिकोटमा एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईकी आठ वर्षीया छोरी निसु र चार वर्षका छोरा निहान छन्। पहिरो खसेर कच्ची घर पुरिँदा उनीहरूको ज्यान गएको हो।

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोले पुर्दा गन्यापधुरा गाउँपालिका-१ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गन्यापधुरा-३ मा खोलाले बगाउँदा ६५ वर्षीया नर्मदादेवी शाहीको मृत्यु भएको छ। त्यस्तै, कालिकोटमा महावै गाउँपालिका-७ की १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ।

सबैभन्दा धेरै बेपत्ता बझाङमा भएका छन्। थलारा गाउँपालिका-४ डिख्लामा मंगलबार बिहान करिब ४ बजे आएको पहिरोमा पुरिएर दुई परिवारका २३ जना बेपत्ता भएका हुन्। डिख्लामा पहिरोले सात घर बगाएको छ। अन्य घरका मानिसले भागेर ज्यान जोगाए पनि दुई परिवार सुतिरहेका वेला पुरिएका हुन्। स्थानीय शिक्षक मानबहादुर साउदका अनुसार बेपत्ता हुनेमा गगने सार्कीको परिवारका १८ र नरे पार्कीको परिवारका पाँचजना छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। हुम्लामा एकै घरका ६ जना बेपत्ता भएका छन्। पहिरोले घर बगाउँदा खार्पुनाथ गाउँपालिका-५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ६५ वर्षीय धनवीरेसहित ५५ वर्षीय कलबहादुर, ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६ वर्षीय हुमेश र दुई वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए।

कैलालीको लम्की-चुहा नगरपालिकामा माछा मार्न गएका तीनजना बाढीले बगाएर बेपत्ता भएका छन्। सोही नगरपालिका-३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, २६ वर्षीय खडक रानामगर र ३५ वर्षीय विक्रम घर्तीमगर स्थानीय खोलामा सोमबार साँझ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

डोटीमा सायल गाउँपालिका-१ का ६४ वर्षीय वीरे रोकाया छत्रेखोलामा बाढीले बगाएर बेपत्ता भएका छन्। जुम्लामा हिमा नदीको बाढीले ल्याएको दाउरा संकलन गर्ने क्रममा बगाएर हिमा गाउँपालिका-६ बागबजारकी ३३ वर्षीया रत्ना शाही बेपत्ता भएकी छिन्।

‘तीन दिनदेखि मुलुकको पश्चिमी क्षेत्रमा घनघोर वर्षा भएको छ। पहाडका गाउँमा पहिरो गएको छ। खोला र नदीमा बहाव बढेको छ। बाढीका कारण तराईका बस्ती डुबानमा परेका छन्’, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, ‘बाढी र पहिरोमा परी ज्यान गुमाउने, बेपत्ता हुने र विस्थापित हुनेको संख्या बढिरहेको छ।’

डोटीमा सबैभन्दा धेरै चार सय ५० परिवार विस्थापित भएका छन्। डोटी प्रहरीका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार दिपायल सिलगढी नगपालिका-७ कोइरेलीका तीन सय र केआइसिंह गाउँपालिका-४ का एक सय ५० जना विस्थापित भएको चन्दले जानकारी दिए।

त्यस्तै, पहिरोले बझाङ थलारामा तल्लो डिख्ला र माथिल्लो डिख्लाका तीन सय परिवार विस्थापित भएका छन्। उनीहरू महेन्द्रधारमा रहेको त्रिभुवन माविमा बसिरहेका छन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट बर्दियाको राजापुर-१ चनौरामा एक सय ५३ घरपरिवार विस्थापित भएका छन्। बर्दियाकै गेरुवा-२ का राजीपुर, सनककट्टी र बनकट्टीमा ८० परिवार विस्थापित भएका छन्। त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदाली र ऐरिया क्षेत्रमा एक सय ५० परिवार विस्थापित भएका छन्। कञ्चनपुरकै दोधाराचाँदनी-१० का शान्तिटोल, बैदीफाँटा र निशानी टोलका एक सय २० परिवार विस्थापित बनेका छन्।

कैलालीमा सयभन्दा बढी परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार लम्की-चुहा र टीकापुर नगरपालिका तथा जानकी र कैलारी गाउँपालिका बासिन्दा बढी प्रभावित भएका छन्।

झापामा कन्काई नदी सतर्कताको तह पार गरेर बस्ती पस्दा गौरीगन्ज-१ स्थित टपु बस्तीका १८ परिवार विस्थापित भएका छन्। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार उनीहरूलाई गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ। गौरीगन्ज-१ कै हुक्लाबारी पनि वरिपरिबाट कन्काई नदीले घेरिएको छ। त्यहाँ ८५ घरपरिवार छन्। तीमध्ये सुरक्षित भएर केही घरमै बसेको र केही परिवार नजिकै रहेको चर्चमा बसेको प्रजिअ तिमिल्सिनाले बताए। त्यस्तै, कालिकोटको महावै-७ मा आएको पहिरोले १२ घरपरिवार विस्थापित बनेका छन्।

कञ्चनपुर: महाकालीको भँगालोमा फसेका एकै परिवारका पाँचको १८ घन्टापछि उद्धार

सोमबार मध्यरातमा महाकाली नदी गाउँ पसेपछि बाढीमा फसेका कञ्चनपुरको भीमदत्त नगरपालिका खल्लामछेट्टीको एकै परिवारका पाँचजनाको १८ घन्टापछि हेलिकोप्टरमार्फत उद्धार भएको छ। महाकालीमा पानीको सतह बढेसँगै भँगालो गाउँ पसेको थियो। मध्यरातदेखि घरमै फसेका पुष्करसिंह नायकको परिवारका सदस्यको मंगलबार साँझ पाँच बजेतिर सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार पुष्करसँगै शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायक बाढीमा फसेका थिए। खल्लामछेट्टी जिल्लाको दुर्गम बस्ती हो। सदरमुकाम महेन्द्रनगरबाट झन्डै ३५ किलोमिटर उत्तरमा छ। स्थानीय युवा किसनसिंह खड्काका अनुसार उक्त गाउँमा झन्डै सय घर डुबानमा परेका छन्।

कैलाली: माछा मार्न गएका तीन बेपत्ता

कैलालीको लम्की-चुहा नगरपालिकामा माछा मार्न गएका तीनजना बाढीले बगाएर बेपत्ता भएका छन्। सोही नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, २६ वर्षीय खडक रानामगर र ३५ वर्षीय विक्रम घर्तीमगर स्थानीय खोलामा सोमबार साँझ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

जिल्लामा बाढीबाट एक सयभन्दा बढी परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार लम्की-चुहा र टीकापुर नगरपालिका तथा जानकी र कैलारी गाउँपालिका बढी प्रभावित भएका छन्। टीकापुरमा कर्णाली नदीको भँगालो नै गाउँ पसेको छ। वडा नम्बर ५ शाहीपुरमा तटबन्ध भत्काएर नदी गाउँ पसेपछि जिल्लाको पूर्वी क्षेत्रमा त्रास फैलिएको छ। टीकापुरका ५, ६, ७ र ८ वडाका दर्जनौँ बस्तीमा कर्णाली पसेको छ। नदीको बाढी गाउँ पसेपछि प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय विद्यालय र सुरक्षित ठाउँमा सार्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षित स्थानमा जानका लागि दिउँसोबाटै गाउँगाउँमा माइकिङसमेत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आइतबारदेखिको अविरल वर्षासँगै कर्णाली नदीमा बाढीको सतह खतराको संकेतभन्दा दुई मिटरमाथि नाघेको छ। चिसापानीमा रहेको जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको सतह १२.८० मिटर मापन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नदीमा बाढीको सतह १०.८० मिटर पुगेमा खतराको तह मानिन्छ।

कर्णालीको बहाव बढेर रानीजमरा-कुलरिया सिँचाइ आयोजनाको नहरमा पसेपछि जानकी गाउँपालिका-९, खैरीफाँटामा ५० घरधुरीमा बाढी छिरेको छ। प्रभावित परिवारलाई मंगलबार बेलुकीसम्म स्थानीय विद्यालयहरूमा सारिएको छ। त्यहाँ नहरमाथि बनेको पुलको एकातिरको भाग बाढीले भत्काउँदा आवतजावत पूर्ण रूपमा बन्द भएको छ। बाढीले रानीजमरा-कुलरिया सिँचाइ आयोजनाको बाँधमा समेत क्षति हुन थालेको छ। बाँधको छेउबाट बाढीले बगाउन थालेको र बाढीको सतह कम नभए बाँधमा ठूलो क्षति हुन सक्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। रानीजमरा सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छ। बाँध र केही किलोमिटर मूल नहर निर्माण भइसकेको छ।

ठूलीगाड दोभानमा फसेका दुईको उद्धार हुन सकेन
मोहन्याल गाउँपालिका-४ खिमडीस्थित ठूलीगाड दोभानमा मंगलबार बिहान फसेका दुईजनाको साँझ अबेरसम्म उद्धार हुन सकेको छैन। स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती बिर्मादेवी बुढामगर दोभानमा फसेका हुन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगे पनि खराब मौसमका कारण उद्धार प्रयास सफल हुन सकेन। ‘भिजिबिलिटी’ कम हुँदा हेलिकोप्टरबाट उद्धार हुन नसकेको जिप्रका प्रवक्ता विष्टले बताए। अविरल वर्षासँगै कैलालीको भाँसु भिरमा गएको पहिरोले सोमबार बेलुकीबाट अवरुद्ध भीमदत्त राजमार्ग भने मंगलबार दिउँसोबाट सञ्चालनमा आएको छ।

नौवटै जिल्लामा राहत पठाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरोपीडितको उद्धार, राहत, व्यवस्थापनलगायतका लागि प्रदेशका नौवटै जिल्लामा राहत पठाउने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्ले विपत् व्यवस्थापन, राहत र उद्धारका लागि जिल्ला विपत् व्यवस्थापन समितिहरूलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

जुम्ला: बाढीले बगाएर एक बेपत्ता, खानेपानी, पुल र सडकमा क्षति

हिमा नदीको बाढीले ल्याएको दाउरा संकलन गर्ने क्रममा बगाएर हिमा गाउँपालिका-६ बागबजारकी ३३ वर्षीया रत्ना शाही बेपत्ता भएकी छिन्। दिनभर खोजी गरे पनि शाही नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए।

त्यस्तै, तातोपानी गाउँपालिकामा काठेपुल, सडक, विद्यालय भवन, खानेपानी संरचनालगायतमा क्षति पुर्याएको छ। तातोपानी-५ मा तीनवटा गाउँका बासिन्दाले पिउने खानेपानीको संरचना बगाएपछि समस्या निम्तिएको स्थानीय नारायणी चौलागाईंले बताइन्। तातोपानी-४ स्थित नेत्रज्योति माविमा पनि बाढीले क्षति गरेको छ। विद्यालयको कम्पाउन्डदेखि कोठासम्म भत्काएको छ। तिला गाउँपालिका-४ साँपुल्ली गाउँमा एक सय ९६, नुवाकोटका दुई सय २०, रावतवाडाका ४५ घरधुरी प्रभावित भएका छन्। तिला-१ स्थित रारा र कठिना जोड्ने काठेपुल बगाएको छ। राराकै नौ पानीघट्ट डुबानमा परेका छन्। तिला-२ डुन्डेलीमा रहेका नौवटा घर तिला नदीको जोखिममा रहेकाले सामान सुरक्षित स्थानमा सारिएको छ। वर्षाले नाग्म-गमगडी राजमार्ग बन्द भएको छ।

झापा: १८ परिवार विस्थापित, सुरक्षित स्थानमा सारियो

बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित भएका छन्। कन्काई नदी सतर्कताको तह पार गरेर बस्तीमा पस्दा गौरीगन्ज-१ स्थित टपु बस्तीका १८ परिवार विस्थापित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार ती परिवारलाई गौरीगन्ज गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै, गौरीगन्ज-१ कै हुक्लाबारी पनि वरिपरिबाट कन्काई नदीले घेरिएको छ। त्यहाँ ८५ घरपरिवार छन्। तीमध्ये सुरक्षित भएर केही घरमै बसेको र केही परिवार नजिकै रहेको चर्चमा बसेको प्रजिअ तिमिल्सिनाले बताए।

सिन्धुपाल्चोक: मेलम्चीमा चार महिनापछि बनेको अस्थायी पुल पनि बगायो, दसैँ मान्न आएकाहरू मेलम्चीपारि नै रोकिए

गत १ असार र १६ साउनमा मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजार क्षेत्रलाई बगर बनायो। भेर्माथाङ र यांग्रीलार्केबाट झरेको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरी थांपालको बरुवा क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो। त्यसयता घरदेखि बजारसम्म आउजाउ गर्न सास्ती व्यहोर्दै आएका मेलम्चीपारिका बासिन्दाका लागि दसैँका लागि अस्थायी पुल बनाइएको थियो। मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थांपाल गाउँपालिकाले अस्थायी पुल बनाउन बजेट हालेका थिए। अस्थायी पुल नै भए पनि स्थानीय केही हदसम्म खुसी भए। तर, त्यो खुसी दुई दिन पनि टिकेन। हेलम्बु र मेलम्चीमा बनाइएका अस्थायी पुल तीन दिनयताको वर्षासँगै आएको बाढीले बगाएपछि दसैँ मान्न टाढाटाढाबाट आएका आफन्तहरू पुल बगाएसँगै मेलम्चीपारि नै रोकिएका छन्।

हेलम्बुको तिम्बु, हल्दे र चनौटेमा बनाइएको फलामे अस्थायी पुल बाढीले बगाएको हो। पुल बगाएपछि मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ र चनौटेपारि सबै बस्तीका स्थानीय मारमा परेका छन्। अहिले एक गाउँबाट अर्को गाउँसम्म हिँडडुल गर्न पनि नसक्ने अवस्था छ।

मेलम्चीनजिकै इन्द्रावती नदीमा हालेको ह्युमपाइप बाढीले बगाएकाले पाँचपोखरी थांपाल जाने यातायात बन्द भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए। निर्माणकै क्रममा रहेको बाहुनेपाटीस्थित मध्यपहाडी लोकमार्गको मोटरेबल पुलबाट साना गाडी शिखरपुर र ज्यामिरे हुँदै भोताङसम्म पुगेका छन्। तर, वर्षात्ले कच्ची सडक हिलाम्मे भएकाले गन्तव्यसम्म पुग्न अनिश्चित छ।

कतिपय सवारीसाधन बीचबाटोमै अल्झिएका छन्। मेलम्चीको झोलुंगेपुल तरेर पाल्चोक र तिपेनी क्षेत्र गएका स्थानीय खराब बाटोको कारण समस्यामा परेका छन्। मेलम्चीबाट दिनभर हिँडेर बरुवा, थांपाल, मानेखर्क, भोताङ पुगेका बासिन्दाले स्थानीय सरकारसँग सहज रूपमा हिँड्न सक्ने बाटो बनाउन माग गरेका छन्। दसैँको फूलपातीअघि मेलम्ची खोला र इन्द्रावती नदी तरेर जाने पाँच ठाउँमा हालेको ह्युमपाइप बाढीले बगाएकोले मेलम्चीपारिको बस्ती पुग्ने यातायात आइतबारदेखि बन्द भएको छ। दसैँको टीका लगाउन गएका आफन्तजन मेलम्ची निस्कन सकेका छैनन्।

सुदूरपश्चिमका पहाडी जिल्लामा यातायात ठप्प

लगातारको वर्षाले सुदूरपश्चिमको पहाडी जिल्लाका सडक अवरुद्ध भएका छन्। बैतडी-दार्चुला महाकाली राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ। दोगडाकेदारको खोचलेक, डिलाशैनीको बागाबगरलगायतका ठाउँमा पहिरो खसेको छ। यस्तै, अत्तरिया-डडेल्धुरा दशरथचन्द राजमार्गको जोरायल गाउँपालिकाको गैरामा पनि पहिरो खसेको छ।

बैतडी-बझाङ जयपृथ्वी राजमार्गको चिरबित्थड, केदारस्यु तथा सिगास गाउँपालिकाको ज्याफुमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोसँगै रूख ढलेर सडक रोकिएकाले यात्रुहरू अलपत्र परेका छन्। महेन्द्रनगरबाट पुरचौडी बैतडीका लागि हिँडेका गोविन्द धामीले सोमबार रातिदेखि मंगलबार साँझसम्म आधा दर्जन बसका यात्रुहरू खोड्पे-बङाङ सडकको ज्याफूमा अलपत्र परेको बताए। प्रहरी र सिगास गाउँपालिकाका अध्यक्षलाई दिनभर फोन गर्दा पनि बाटो खुलाउन कोही नआएको उनले गुनासो गरे।

हुम्ला: एकै घरका ६ बेपत्ता

पहिरोले घर बगाउँदा हुम्लाको खार्पुनाथ गाउँपालिका-५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ६५ वर्षीय धनवीरेसहित ५५ वर्षीय कलबहादुर, ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६ वर्षीय हुमेश र दुई वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए। गाउँमा पहिरोको जोखिम बढेकाले स्थानीयहरू विस्थापित भएर माडुमा आश्रय लिएर बसेको स्थानीय प्रकाशबहादुर शाहीले जानकारी दिए।

सोमबार रातिदेखि सेतीको बाढीमा फसेका बैतडी ढुंगाडका विष्णु चन्द भन्छन्, ‘रातभर रुवाबासी चल्यो, आकाश हेरेर दिन बित्यो’

“सोमबार राति ९ बजे सेतीको बाढी बस्तीतिर आयो। सक्नेहरू ज्यान बचाउन धमाधम बस्ती छाडेर बैतडीतिर लागे। अशक्त, वृद्धवृद्धा, महिला र बालबालिका तर्न नसकेर यतै अड्कियौं। मेरो अनुमानमा बस्तीमा अहिले ६० जनाजति छौं।

तर, हामी पनि सबै भेट्न पाएका छैनौं। चार ठाउँबाट नदी बस्तीमा पसेकाले बस्तीभित्रै पनि वारिपारिको अवस्था बनेको छ। सोमबार रातिदेखि नै बिजुली छैन। नेपाल टेलिकमको मोबाइल चलेको छैन। एनसेलको सिम मात्र चलेको छ। बिजुली नभएकाले ब्याट्री चार्ज गर्न पाइएको छैन। दिनभरि उद्धारको आशामा कहिले नदीतिर त कहिले आकाशतिर हेरेर बितायौं। तर, कतैबाट कोही आएनन्। रात परेपछि सबै आत्तिन्छौं।

साँझ पर्न थालेदेखि निकैबेरसम्म रुवाबासी चल्यो। परपरबाट रोएको, चिच्याएको, गुहार-गुहार भनेको सुनिन्थ्यो। तपाईंसँग कुरा गरिरहँदा अहिले पनि साना केटाकेटी रोएको आवाज आइरहेको छ। मेरो मन पनि निकै आत्तिएको छ। पानी परिरहेकाले कुन वेला बगिने हो भन्ने ठोगान छैन।”

यसकारण मनसुन बाहिरिएपछि ठूलो वर्षा भयो : रामप्रसाद अवस्थी सूचना अधिकारी, जल तथा मौसम विज्ञान विभाग

२५ असोजमै मनसुन बाहिरिएको हो। तर, अहिले हामीकहाँ दुई किसिमका मौसम सक्रिय छन्। एउटा बंगालको खाडी, बिहार र उत्तर प्रदेशतर्फबाट बहने न्यूनचापीय वायु प्रणाली सक्रिय छ।

जसले पूर्वी नेपालका केही क्षेत्रमा वर्षा गराइरहेको छ। पश्चिमतर्फ भने हिउँदयाममा सक्रिय हुने वायु प्रणाली समयभन्दा अगावै सक्रिय हुँदा वर्षा भएको हो। पाकिस्तान र अफगानिस्तान हुँदै बहने वायु प्रणाली सक्रिय हुँदा हिउँदमा वर्षा हुन्छ। ३१ असोजबाटै यो प्रणाली सक्रिय भएको छ। यो पश्चिमबाट पूर्वतर्फ अघि बढेको छ। त्यसैले पश्चिममा बुधबारबाट वर्षा कम हुन थाल्छ।

गण्डकी, बागमती, लुम्बिनी, प्रदेश १ र २ मा बुधबार पनि वर्षा कायम रहन्छ। बिहीबारपछि मात्रै नेपालको मौसम सफा हुन्छ। मनसुन बाहिरिएपछि अविरल वर्षा भएको यो १३ वर्षपछि हो। सन् २००८ मा यस्तै भएको थियो। त्यसवेला पश्चिम नेपालमा तीन सय मिलिमिटरसम्म वर्षा भएको थियो। यसपटक तीन सय ६१ मिलिमिटर वर्षा भएको छ। करिब १३ वर्षपछि यो क्रम दोहोरिएको छ। विगतमा पनि यस्तो भएकाले अहिलेको वर्षा अनौठो होइन।

विभिन्न जिल्लाका पत्रकारहरू/नयाँ पत्रिका