सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना, एक यात्रुको मृत्यु



सुर्खेत। सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका-१ दारेभिरमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो। सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर शनिबार राती ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बसमा ३५ देखि ५० जना यात्रु सवार रहेको बुझिएको छ। दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्। प्रहरी दुर्घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरेको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको भनिएपनि खास कारण खुलेको छैन। थप विवरण आउन बाँकी छ।

रातोपाटीबाट