विद्यालयबाट फर्केका तीन बालिकालाई खोलाले बगायो: एकको मृत्यु, दुई जना पौडिएर बाँच्न सफल



मकवानपुर। मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन्।

खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

मंगलबार दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलाले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएको तर एकजना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए।

बालिकाको शव फेला परेको प्रनानि रिमालले बताए। मृत्यु हुने बालिका राक्सिराङ-८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक बालिकाको शव डेढ किलोमिटर तल भेटिएको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकसहितको टोली पुगी अनुसन्धान एवं मुचुल्का उठाउने काम गरेको थियो।