‘तालिबान सरकारमा चुलियो विवाद, बरादरले छाडे काबुल’



काठमाडौँ। अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ। बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ। केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन्।

त्यसैले पनि तालिबानमा नेतृत्वलाई लिएर व्यापक असहमति रहेको कुरा सतहमा आएको छ । तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद नभएको दाबी गरेको छ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो। मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो। तालिबानी सरकारका सदस्य सबै पुरुष छन् । त्यस्तै मन्त्रीमण्डलमा विश्वका विभिन्न देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन्।

तालिबान सूत्रले बीबीसीको पश्तो सेवालाई दिएको जानकारीअनुसार केही दिनअघि बरादर र खलील उर रहमानबीच भनाभन भएको थियो। दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकापसमा भिडेका थिए। खलील उर रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता हुन्। उनलाई सरकारमा शरणार्थी मामिलासम्बन्धी मन्त्रीको जिम्मेवारी दिइएको छ।

उक्त वादविवाद प्रत्यक्ष देखेका तालिबानका एक शीर्ष नेताले बीबीसीलाई घटनाबारे जानकारी दिएका हुन्। बरादर तालिबान सरकारको संरचनालाई लिएर खुसी नभएको बताइएको छ। उनलाई अन्तरिम सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। अफगानिस्तानमा मुल्लाह मोहम्मद हसन अखुंदलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको छ।

अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुंद। अफगानिस्तानमा तालिबानको जितको श्रेय कसले लिने भन्नेबारेमा शीर्ष नेताबीच होडबाजी चलेको छ। बरादरले आफ्नो कूटनीति र रणनीतिका कारण नै सत्ता कब्जा सफल भएको मान्दै आएका छन्। त्यस्तै हक्कानी नेटवर्कले भने आफ्नो बलबुतामा सत्ता हात परेको दाबी गर्दै आएको छ। हक्कानी नेटर्वकले तालिबानी शीर्ष नेताको मातहतमा नै आफ्ना गतिविधि गर्दै आएको छ।

सन् २०२० मा बरादर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुरा गर्ने पहिलो तालीबानी नेता हुन्। त्यसअघि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताबारेको दोहा सम्झौतामा उनले तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए।

अर्कोतर्फ पछिल्ला केही वर्षयता अफगानिस्तानमा अमेरिकी नेतृत्वको विदेशी सैन्य दस्तामाथि आक्रमण गर्दै हक्कानी नेटवर्कले आफ्नो प्रभाव देखिएको थियो। अमेरिकाले उक्त समूहलाई आतंकवादी संगठनको सूचीमा समेत राखेको छ। यस समूहका नेता सिराजुद्धीन हक्कानीलाई नयाँ सरकारमा गृहमन्त्रीको समेत जिम्मेवारी दिइएको छ।

अफगानिस्तानमा तालिबान सरकारको नेतृत्व नै गर्ने सम्भावना रहेका भनिएका बरादर सार्वजनिक रूपमा नदेखिएपछि आन्तरिक विवादबारे चर्चा भएको हो ।सामाजिक सञ्जालमा त उनको मृत्यु भएको हल्लासमेत फैलाइयो। बीबीसीले तालिबानी उच्च स्रोतलाई उद्धृत गर्दै बरादरले राजधानी काबुल छाडिसकेको बताएको छ। उनी काबुलबाट कन्दाहार गएको पनि बीबीसीले जनाएको छ। सोमबार बरादरको नाममा सार्वजनिक एक अडियो टेपमा उनी यात्राका क्रममा राजधानीबाहिर रहेको र सकुशल रहेको बताइएको छ।

तालिबानका एक जना प्रवक्ताले भने शीर्ष नेतासँगको भेटघाटका लागि बरादर कन्दाहार गएको दाबी गरेका छन्। तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अंखुदजादा कन्दाहारमा रहेको बताइएको छ।