फेक भिडियो बनाएर फसाउन खोजियो: मन्त्री शाही



काठमाडौँ। कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको आरोप सत्य नभएको बताएका छन्।

फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको उनको दावी छ। बलात्कार आरोप लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा कोठामा छिरेको देखिने व्यक्ति म नै हो। तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै सत्यता छैन।’

‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ?’ मन्त्री शाहीले आक्रोश पोखे, ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनिसक्दा पनि फण्डा मच्चाउने काम राम्रो होइन्। भिडियो पूर्ण रुपमा एडिट गरेर सार्वजनिक गरिएको छ।’

उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आफूलाई जानकारी भएको दावी गरे। एमालेका भ्रातृ संगठनले जुलुस निकालेर नभएको विषयमा राजनीतिकरण गर्न खोजेको उनको आक्रोश छ। उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भूमिका रहेको पनि आरोप लगाए। ‘यो सबै यामलाल कँडेलको डिजाईन हो। अपराध हेर्ने त अदालत ले होला नि। अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने।

उनले अगाडि भने, ‘बलात्कार गरेको भनिएको भिडियो ल्याबमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दोषी–निर्दोषी भनेर भनौँ। फेक भिडियो एउटा एप्सबाट बनाइएको छ। ल्याबबाट प्रुभ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ।’ शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सुनियोजित प्रकारले आफूमाथि हमला भएको उल्लेख गरे।