कर्णाली प्रदेश: थप तीन जना सांसद एकीकृत समाजवादीमा



काठमाडौँ। कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन्। प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन्। प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए।

जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, सम्बरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो। एमालेका कारवाहीमा उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीमा छन्।

एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही भने एमालेमै रहने भएका छन्। नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन।

सांसद देवी ओलीले अन्य केही सांसदहरुसँग पनि लबिङ भइरहेको बताइन्। उनले अझै केही सांसद नेकपा एकीकृत समाजवादीका पक्षमा आउने दाबी गरिन्।