कांग्रेसले सार्वजनिक गर्‍यो ५६ जिल्लाका क्रियाशील सदस्यको नामावली



काठमाडौँ। नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ।

मंगलबार निर्वाचन समितिले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो। निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ।

कांग्रेसका यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो। कांग्रेसले अझै २१ जिल्लाको क्रियाशील विवाद समाधान गरिसकेको छैन। जसकारण क्रियाशील सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का अनुसार २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिलाई बुझाउने गृहकार्य भइरहेको छ। जसका लागि नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेको उनको भनाइ छ। वडा अधिवेशन भदौ १८ गतेबाट सुरु भएर केही दिन लम्बिने खड्काले संकेत गरे।

उनले भने भने, ‘भदौ १८ काट वडा अधिवेशन हुँदै जान्छ। सिटौलाजी, रमेशजी र मिनेन्द्रजी सम्मिलित समिति बनेको छ। उहाँहरुले टुंग्याउँदै जानुहुन्छ। उहाँहरुले क्रियाशील सदस्यको टुंगो लगाएर निर्वाचन समितिलाई बुझाउनु हुन्छ। निर्वाचन समितिले सार्वजनिक गर्छ। अनि अधिवेशन हुँदै जान्छ।’ अब यही प्रक्रियाले अगाडि जाने खड्काले बताए।