घानीका भाइले भने,‘अफगानीले तालिवानी शासन स्वीकार्नुपर्छ’



काठमाडौँ। अफगानिस्तानका पूर्व राष्ट्रपति असर्फ घानीका भाइ हसकत घानीले अफगानीले अब तालिबानको शासन स्वीकार गर्नुपर्ने बताएका छन्। उनले आफूले तालिबानको नियन्त्रण स्वीकार गरिसकेको तर समावेशी सरकार बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन्।

शनिबार अलजाजिरासँगको कुराकानीमा उनले विदेशी सेना फिर्ता हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा मुलुकको नयाँ परिस्थितिलाई बुझ्दै अफगानी नागरिकका लागि जरुरी रहेको उनको भनाइ छ।

अफगानिस्तानका व्यवसायीसमेत रहेका हसमत घानीले पछिल्लो केही दिनयता तालिबानसँग वार्ता गरिरहेका छन्। उनले अहिले अफगानिस्तानका व्यवसायी र हजारौं मानिस मुलुक छाडेर गएको अवस्थामा यो मुलुकको अर्थतन्त्रको लागि निकै ठूलो क्षति हुने बताएका छन्।

हसमत घानीले मुलुक छाड्ने आफ्नो योजना नरहेको स्पष्ट पारेका छन्। उनले तालिबानले मुलुकका उद्यमीहरुसँग सम्पर्कमा रहन आवश्यक कदम चाल्नु जरुरी रहेको बताएका छन्। उनले तालिबानले पनि आधुनिक समाजलाई स्वीकार गर्नुपर्ने र यस किसिमको व्यवहार तालिबानलाई अफगानिस्तानका मानिसहरुसँग जोडिने सेतु बन्न सक्ने बताएका छन्।

तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै त्यहाँका मानिसहरुमा अनिश्चितता बढेको छ। तालिबानको शासनमा कस्तो किसिमको व्यवस्था हुन्छ भन्ने आशंका मानिसहरुमा देखिएको छ।