हामी पनि एमाले नफुटोस् भन्ने चाहान्छौं: अध्यक्ष प्रचण्ड



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले एमालेको माधव नेपाललाई भेटपछि नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी नहुने दाबी गरेका छन्।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको नेपाल समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन्।

उनले भने,‘ माधवजीहरु अहिले नै सरकारमा सहभागी हुन समस्या छ। व्यक्तिगत रूपमा आउने कुरा बेग्लै भयो। अब तत्काल उहाँहरू नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प छैन।’

​आइतबारको बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा सहभागी हुने नहुनेबारे नेता नेपाललाई भेटेर छलफल गरेका थिए। अध्यक्ष प्रचण्डले बैठकमा आफूले माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेता नेपालले पनि संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताएका थिए।

उनले आफूहरु एमाले नफुटोस् भन्ने चाहेको समेत धारणा व्यक्त गरेका छन्। उनले भने, ‘एमाले एकताको प्रयास भइरहेको छ। माधवजी त्यसमा पनि लागि रहनुभएको छ। हामी पनि एमाले नफुटोस् नै भन्न चाहन्छौँ। एमाले फुट्दा कम्युनिस्ट आन्दोलनलाई पनि केही न केही क्षति हुन्छ।’