अशिक्षा, आर्थिक अवस्था कम्जोर र बालविवाह गर्दा हुनसक्ने समस्याको बारेमा जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिकाहरु उमेरै नपुगी वैवाहिक जिबनमा जोडिन बाध्य छन्।
२० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध हो भनी वि.स. २०७२ को संविधानमा जारी गरिएको छ। नेपालको बालअधिकारको संरक्षण र सम्बर्द्धनका लागी नेपाल सरकारले नेपालको संबिधान २०७२ को धारा ३९ मा बालबालिकाको हकलाई सुरक्षित गर्दै बाल अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ।
स्थानीय सरकारलाई बाल अधिकारको प्रबर्द्धनका लागी नेपालको संबिधान २०७२ र स्थानीय सरकार संचालन एन वि.स. २०७४ मा विभिन्न जिम्मेवारीहरुको व्यवस्था गरिएको छ। नेपालको कानुन अनुसार बाल बिबाह एक कानुनी र सामाजिक अपराध हो भनी मुलुकी ऐन वि.स. २०७४ को दफा ७० उपदफा (घ) मा २० बर्ष पुरा नभई विवाह गर्न नपाउने भनी उल्लेख गरेको छ।
स्थानीय सरकार संचालन ऐन वि.स. २०७४ मा गाउँ र गाउपालिका अन्तर्गत बालविवाह , बहुविवाह ,छुवाछूत , लैंगिक हिंसा , दाइजो प्रथा र मानवीय बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने र गराउने जिम्मेवारी प्रधान गरिएता पनि हाम्रो नरहरिनाथ गाउपालिकामा बालविवाह रोकथाम सम्बन्धि कुनैपनी कार्यक्रम ल्याइएको देखिदैन। नेपाल बाल बिबाह हुने मध्य उच्च जोखिममा रहेको देश पर्दछ। नेपाल सरकारले वि.स. २०८७ सम्म बालविवाह अन्त्य गरिसक्ने कसम संगै राष्ट्रिय रणनीति बनाएको छ।
बालविवाह अन्त्यका लागी राष्ट्रिय रणनीति वि.स. २०७२ ले अंगिकार गरेको लक्ष्य अनुसार हाम्रो नरहरिनाथ गाउपालिकामा खासै त्यस्तो रणनीति बनाएर अघि बढेको देखिदैन। गाउघरमा बालविवाह किन बढी हुनेगर्छ भनेर युवा विद्यार्थीहरु मिलेर अध्ययन गर्दै जाद बालविवाह गर्नेहरू मध्य धेरैको मुखबाट के सुनियो भने आर्थिक अवस्था कम्जोर भएकै कारण भविस्यमा सोचेजस्तो पढ्न सकिदैन, पढेर पनि गाउघरमा कृषि गर्ने, कृषि गर्न नसके बेरोजगार भइ बिदेश जानुपर्ने भए पढेर खर्च किन गर्ने बरु बेलैमा विवाह गरेर कम्तीमा पाखुरिको बलले छोराछोरी लाई हुर्काउन,पढाउन त सकिन्छ।
ढिलो बिबाह गरेर बुढेसकालमा नपाउने दुख पाउनु भन्दा २० बर्षको उमेरमा बच्चा जन्म्यो भने कम्तीमा आफू ४० बर्षको हुँदा छोराछोरी २० बर्ष पुग्छ र आफुलाई केहि भैहाल्यो भने पनि उसले केहि गरेर बाच्छ। पढाइ गतिलो छैन भविस्यमा केहि गर्न सक्दिन भनेर गाउघरमा SEE सकिदा बित्तिकै विवाह गर्ने गरेको उनिहरुले बताए। सायद देशमा इच्छा अनुसार शिक्षा निशुल्क भएको भए र बिरामी पर्दा जुनसुकै रोगको निशुल्क उपचार हुने र देश भित्रै इच्छा, क्षमता, सीप र कला अनुसार रोजगारीको ग्यारेन्टी गरिदिएको भए सायद बालविवाह गर्ने कमै हुन्थ्यो होला। आज जिन्दगीभर आफै जिउनु परेको हुदा चाहेजस्तो जिन्दगी नबनेको देखिन्छ।
बालविवाह बढ्नुको कारण
१. बालविवाह गर्दा हुने हानी र थप समस्याको बारेमा कतिलाई त जानकारी नै नभएर गर्ने गर्छन्
२. बाल विवाह दण्डनीय अपराध हो भन्ने कुरा थाहा नभएकै कारण
३. सामाजिक सञ्जाललाई दुरुपयोग गरेका कारण
४. विवाहमा अभिभावकको निर्णायक भूमिका हुने हुँदा
५. किशोर किशोरी अवस्थामा अपरिपक्कता र ज्ञानको अभावका कारण
६. साथीहरूको लहैलहैमा लाग्नु र साथीहरूको दबाब नकार्न नसक्नु
७. गरिबी , अशिक्षा र अपरिपक्कताका कारण बालविवाह हुनुको मुख्य कारण भनेकै अशिक्षा हो।
अशिक्षा, आर्थिक अवस्था कमजाेर र कानूनी ज्ञान नभएकै कारण ग्रामीण क्षेत्रका बालिकाहरु उमेरै नपुगी वैवाहिक जीवनमा जाेडिन बाध्य छन् । याे नै ग्रामीण महिलाकाे उज्वल भविष्य निर्माण गर्ने मूल बाधक हाे ।
बालविवाह गर्दा र गराउदाका समस्याहरु
१. विवाहले कानुनी मान्यता पाउदैन र कानुन बमोजिम रद्द सम्म हुन्छ।
२. विवाह दर्ता गराउन नमिल्ने हुदा श्रीमान र श्रीमती बीच वैधानिक नाताको मान्यता मिल्दैन।
३. बालविवाह गर्ने र गराउने ब्याक्ती लाई ७५००० रुपैया जरिवाना र ३ बर्ष सम्म कैद हुनसक्ने व्यवस्था गरिएको छ।
४. सानै उमेरमा गर्भ बस्न गई आमा र बच्चा दुबैको जिबन जोखिममा पर्न जान्छ।
५. शिक्षा प्राप्ति र परिवारिक मायाममता बाट बन्चित भइ घरेलु हिंसाको जोखिममा परिन्छ।
६. शारीरिक , मानसिक र बौद्धिक बुद्धि बिकासमा बाधा आउछ।
७. कामको बोझ
८. अन्जानमा विवाह भएका कारण भावना र बिचार नमिली विवाह भएकाले झगडा, बिछोड वा अआत्महत्या जस्ता घटनाहरु बढिरहेका छन।
बालविवाह रोकथाम गर्ने उपाय
१. बालबालिका लाई इच्छा अनुसार शिक्षाको ग्यारेन्टी गरिनुपर्छ
२. बालविवाह दण्डनीय अपराध हो। बालविवाह गर्ने र गराउने लाई कडा सजाय हुनुपर्छ।
३. बालविवाह रोकथामका लागी आवश्यक जनचेतना जगाउनु पर्छ।
बालविवाह विरुद्ध चेतनाका अभियान चलाउने, जनजागरण कार्यक्रम संचालन गरी गाउँ स्तरमा बाल संरक्षणको विषयमा उल्लेख हुँदा पनि आजका दिनसम्म स्थानीय निकायले केहि पनि चासो दिएको छैन। स्थानीय निकायले बालबालिकाका निम्ति प्रभावकारी काम गरेको पनि देखिँदैन। बालविवाह नगर्न नगराउनका लागि एउटा छुट्टै अभियानको खाचो भएकाले हामी यस गाउँपालिकामा केहि सचेत युवा मिलेर नयाँ अभियान (अध्ययन प्रतिष्ठान ) को सरुवात गरेका छौं।
यस अभियानमार्फत जनचेतनामुलक कार्यक्रमको संचालन गरिने छ। अहिलेसम्म जति नै बाल क्लब, युवा क्लबहरु गठन भएता पनि खासै प्रभावकारी काम गर्न सकेका छैनन्। त्यसैले अव नयाँ ढंगले, नयाँ विधिबाट बाल विवाह र अन्य सामाजिक समस्याहरु हल गर्न अध्ययन प्रतिष्ठानमार्फत असल समाज र असल नागरिक बनाउन मुख्य लक्ष्य लिइएको छ। यही प्रतिष्ठान मार्फत समाजभित्रको अन्धविश्वास हटाउन चेतनामार्फत मात्र सकिन्छ भन्ने उदेश्य छ।