गगन थापाले भने, ‘देउवा सरकालाई कुनै अपराध गर्न छुट छैन’



काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै नयाँ सरकारलाई त्यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको प्रस्ट पारेका छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ। यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्।’

उनले केपी ओली नेतृत्वको सरकारका बेथिति उजागर गर्दै अगाडि भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार।’

उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए। ‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्छ,’ उनले भने, ‘न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन। न त मनोमानि ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न। यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनुपर्ने छ– सांसदको प्रश्नसँग, संसदको निगरानीसँग।’

सांसद थापाले प्रधानमन्त्रीको मात्र नभएर सभामुख र यो संसद जोगाउन लाग्ने प्रत्येक सांसदको परीक्षाको घडी आएको बताए। ‘संविधानको धाराले प्रतिनिधिसभा पुनर्स्थापना भयो अनि सांसदको अधिकारले सरकार,’ उनले भने, ‘अब सभामुख र हाम्रो कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वास लाई पुन: स्थापित गर्नुपर्नेछ।’