पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्ने, गौरिकाको पालो बुधबार



काठमाडौं। जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले आज प्रतिस्पर्धा गर्दैछन्।

टोकियो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्स पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। उनी हिट नम्बरमा वानमा छन्। उक्त हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका छन्। एलेक्स लेन नम्बर ६ मा छन्। एलेक्सको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे रहेको छ।

१०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमानधारी एलेक्सको टोकियो ओलम्पिकमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्ने लक्ष्य राखेका छन्।

एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक शुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए। ओलम्पिकमा दुवै खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कील बताए। गौरिकाले बुधबार महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।

एलेक्सको ओलम्पिक इन्ट्री टाइमिङ ५६.२८ रहेको छ। यस इभेन्टमा ब्राजिलका सेजार सेइलोले ४६.९१ सेकेण्डको विश्व कीर्तिमान बनाएका छन्।

पुरुष १०० मिटर फ्रिस्टाइलमा कुल ७२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट १६ पौडीबाट सेमिफाइनलमा पुग्नेछन्। यस इभेन्टको हिट चरणका खेलहरु आज हुनेछ। हिटमा उत्कृष्ट भएका खेलाडीहरु जुलाई २८ मा हुने सेमिफाइनलमा छनोट हुनेछ। फाइनल जुलाई २९ मा हुनेछ।