नेकपाको केन्द्रीय कार्यालय विप्लवद्वारा शिलान्यास



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्ने भएको छ।

पार्टीका महासचिव विप्लवको गृहजिल्ला बुधबार कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय भवनको शिलान्यास गरिएको छ। शिवगढीलाई ‘मिनी रोल्पा’ पनि भनेर चिनिन्छ।

अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई नै पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको पार्टीले जनाएको छ। सरकारसँग २१ फागुनमा तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौँमा औपचारिक कार्यालय पनि खोलेको छैन।

पार्टी केन्द्रीय सदस्य सञ्जीव कुमारले पार्टी कार्यालय ४ तलाको हुने जानकारी दिए। असारसम्म एक तला निर्माण गरिसक्ने गरी निर्माण कार्य थालिने उनले बताए। अर्को दुई तलामा करिब तीन सयभन्दा बढी अटाउने सभाहल बनाउने पार्टीको योजना रहेको छ। यसका लागि असारपछि अरु काम गर्ने उनको भनाइ छ। पानी पर्ने सिजन भएकोले असारसम्म काम फटाफट गर्ने तयारी गरेको उनले बताए।

भवनका लागि एक करोडभन्दा बढी लागत अनुमान गरिएको छ। भवनका लागि ४ कट्ठा जमिन स्थानीयसँग खरिद गरिएको उनको भनाइ छ । भवनसँगै पार्टीले सहिद स्मृति पार्कसमेत निर्माण गर्नेछ।

भवन निर्माण कार्यमा पार्टीका नेता–कार्यकर्ताले श्रमदान गर्नेछन्। भवनको शिलान्यासका क्रममा पार्टी महासचिव चन्दले यस्ता भवनहरु देशैभरी निर्माण हुने बताए। शिवगढी क्षेत्रमै चन्दको घर पनि रहेको छ। उनको परिवारका सदस्यहरु त्यहीँ बसोबास गर्दै आएका छन्। उनका दाइ वीरजंग पनि सोही ठाउँमा बसेर पार्टीको राजनीति गर्दै आएका थिए।

मिनी रोल्पाको नामले चिनिने उक्त ठाउँमा गत वर्ष प्रहरीले सर्च अपरेसन चलाउँदा एक जना पार्टी कार्यकर्तालाई गोली पनि लागेको थियो भने प्रहरीले ठुलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको थियो।