संसद विघटनविरुद्ध शहीद तथा वेपत्ता परिवार सडकमा



काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध शहीद तथा वेपत्ता य‍ोद्धा परिवारका सदस्यहरुले राजधानीको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।

सोमबार राजधानीको बबरमहलबाट शुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे। विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताएका छन्।

बस्नेतले शहीदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुनस्स्थापना हुनुपर्ने बताए। कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिदका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने बताए।

कार्यक्रममा सहिद तथा वेपत्ता परिवारका सदस्य समेत रहेका नेकपा नेताहरु हरि दाहाल, युवराज चौलागाईं, सुरेन्द्र बस्नेत, प्रमोद पौडेल लगायतले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न र वेपत्ता योद्धाहरुलाई तत्काल सार्वजनिक गर्न माग गरे।

तस्बिर: मुकुन्द कालिकोटे