नागरिकमाथि दमनको अर्थ: ओली सरकार थप निरंकुश



काठमाडौँ। केपी ओली सरकार दिनप्रतिदिन निरंकुश र दमनकारी शैलिमा उत्रेको देखिन्छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि विरोधमा उत्रिएका नागरिकहरुमाथि सरकारले दमनको नीति लिएको छ।

सोमबार स्वस्फुर्त निकालिएको नागरिक आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गर्दा एक दर्जनभन्दा धेरै घाइते भएका छन्। यसरी हेर्दा ओली सरकार थप निरंकुशतातर्फ अग्रसर हुने देखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटाबार बाहिर भएको मार्च पासमा सहभागी नागरिक अगुवाहरुमाथि प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो। वृहत् नागरिक आन्दोलनका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराईलगायतको काठमाडौँ मोडल अस्पताल, हेल्पिङ ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन्। सोमबार साँझसम्म जैसीको होस् नआएको वृहत नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गरी युग पाठकले जानकारी दिएका छन्।

बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो। कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम अनुसार नागरिक आन्दोलन अघि बढेको थियो।

प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो। पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा। गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए।

कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार गरेको वृहत नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेको भनँई छ।