कांग्रेसले लोकतन्त्रको रक्षा गर्न सक्दैन: उपेन्द्र यादव



काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने ठोकुवा गरेका छन्।

बुधबार प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका बारेमा ढुलमुल बनेको भन्दै यादवले कांग्रेसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने दावी गरेका हुन्। उनले भने, ‘राजनीतिक नियुक्तिका लागि कांग्रेसका नेतृत्व ओली समक्ष टाउको झुकाएर बसेको छ। उसबाट लोकतन्त्रको रक्षाका निम्ति के आशा गर्नु ?’

लोकतन्त्रको रक्षा र जनजिवीकाप्रति जसपा नेपाल क्रियाशील रहेको बताउँदै जसपालाई वैकल्पिक शक्तिको रुपमा परिभाषित गरेका छन्। साथै उनले प्रधानमन्त्री ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिएका छन्।

उनले भने, ‘जसरी राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै ट्रम्पमाथि महाभियोग लाग्यो। ओलीमाथि पनि त्यस्तै हुने देखिन्छ। ओलीलाई अहंकार त्याग्नका लागि म आग्रह गर्दछु।’

प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले भने, ‘प्रधानमन्त्री ओलीको सोचमा नै निरकुंशता छ, उहाँलाई लाग्छ कि म जे भन्छु त्यही हुन्छ। तर उहाँको यो सोच गलत हो, कस्ता कस्ता राजा महाराजा समाप्त भइसके ओली को हुन् र?’

प्रधानमन्त्री ओलीले जनताको जीवनसँग खेलवाड गरिरहेको उल्लेख गर्दै उनले भने, ‘ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्छ।’ ओलीका कारण देशको अर्थतन्त्र तहस नहस भएको बताउँदै उनले ओली शासनमा रहेसम्म देशको विकास नहुने धारणा राखेका छन्।