प्रचण्डलाई बाबुरामले भने,‘ओलीलाई पार्टीबाट कहिले निकाल्ने?’



काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारविरुद्ध प्रचण्डले हिंसात्मक आन्दोलनको कुरा गरेको प्रसंगमा आफूले उनको ठेक्का लिन नसक्ने ताएका छन्।

सोमवार गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित ‘प्रतिनिधिसभा विघटनः संवैधानिक एवं राजनैनिक अन्यौलता र त्यसको निरूपण’ विषयक बहस कार्यक्रममा भट्टराईले भने, ‘एक जना साथीले हिंसात्मक आन्दोलनको कुरा गर्नुभयो। प्रचण्डजीको बारेमा म ठेक्का लिन्नँ। उहाँले कहिले के बोल्नुहुन्छ? आफैले बिहान बोलेको बेलुका उहाँलाई सम्झना हुँदैन।’

प्रतिनिधि सभा विघटनको विरुद्धको आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्ने पनि बताए। आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गर्दै अहिले घोचपेचको समय नभएको जिकिर गरे। उनले सक्दो शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने बताए। हस्ताक्षेप बढ्यो भने रामनाम जपेर बस्न नसक्ने समेत बाबुरामको भनाई थियो। भने, ‘हस्ताक्षेप बढ्यो भने हामी हातमा दही जमाएर बस्नेरु हामी रामनाम जपेर बस्दैनौ।’

बाबुरामले संसद जिउँदै रहेकाले यो ब्युँतिएमा काँग्रेसले नै सरकारको नेतृत्व गर्ने अधिकार पाउने भएकोले संयुक्त आन्दोलनको तयारी गर्नुपर्ने अडान दोहोर्‍याए। ‘संसद जिउँदै छ। यसलाई ब्युँताएर अघि बढ्नुपर्छ। अर्को चुनाव किन पर्खनेरु प्रतिनिधिसभा पुनर्स्थापना भयो भने काँग्रेसको नेतृत्वमा सरकार बन्छ। संयुक्त आन्दोलनको तयारी गरौं’, बाबुरामले भने, ‘हामीलाई सरकारमा जाने लोभ छैन। काँग्रेसले मुख्यतः भूमिका निर्वाह गर्नुपर्‍यो।’

तत्कालीन एमालेको पहिचान नभएको आफूले पहिले नै भएको उल्लेख गर्दै बाबुरामले अहिले पनि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले कित्ता क्लियर गर्नुपर्ने बताए। ‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नुहुन्न? तपाईंहरूले कित्ता क्लियर गर्नुस्। तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ’, उनले भने।