नेकपा सरकार, भ्रष्टाचारै भ्रष्टाचार: नेता शाही (भिडियोसहित)



काठमाडौँ। नेपाली कांग्रेस नेता भूपेन्द्रजंग शाहीले कर्णाली राजमार्गलाई विकास विस्तार गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुझाव दिएका छन्।

सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिद्वारा आयोजित कालिकोटको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले कांग्रेसले बनाएको सडकलाई टालटुल पारेर चुनाव जित्ने काम भएको भन्दै मुख्यमन्त्री शाहीलाई कर्णाली राजमार्ग दुई लेनमा विकास गर्न चुनौती दिएका हुन्।

उनले भनेका छन्, ‘मुख्यमन्त्री बनेपछि कालिकोटमा विकासको लहर चलाउछु भनेर नारा दिनुभएको थियो। कालिकोटमा के विकास भयो ? हामीले प्रश्न गर्ने कि नगर्ने? कति जनता प्रदेश सरकारबाट आउने वजेटबाट सन्तुष्ट छन् ? भनेर सोध्ने कि नसोध्ने ? बाढी पहिरो पीडितहरुको घर बने ? मृतकले राहत पाए ? त्यसैले मुखले होईन व्यवहारमा लागू हुनेगरी काम गर्नुहोस्।’

नेकपाले आफूलाई दलितको पार्टी भनेकोमा आपत्ति जनाएका नेता शाहीले कालिकोट नेकपाको नेतृत्वमा कति जना दलितहरु छन् ? भनेर प्रश्न गरेका छन्।

उनले भने, ‘कांग्रेसलाई दलित विरोधी, पीडित विरोधि पार्टी, विकास विरोधि पार्टीका रुपमा चित्रण गर्दै कालिकोटमा भाषण गर्ने नेकपाका नेताहरु महेन्द्र शाही, धनजित शाही, कुर्मराज शाहीले दलितको पार्टी हो भनेर भन्दा लाज मान्नुपर्दैन ? कांग्रेसको पालामा जनता आवास कार्यक्रम सञ्चालन गरेको भुल्नु भयो ? कांग्रेसको सरकारको बेला युवा विदेश गए भनेर आरोप लगाउनु भयो। आज नेकपाले कति जनालाई रोजगार दियो? आसेपासेलाई पोस्ने बाहेक अरु केही गर्यो ? जनयुद्ध केही व्यक्तिलाई मन्त्री, मुख्यमन्त्री, नेता र केही व्यक्तिहरुलाई धनी बनाउनका लागि थियो ?’

नेपाल तरुणदलका महामन्त्रीमेत रहेका नेता शाहीले ‘वजेट दिने तर, त्यहि बजेटमा कमिसन खाने ? स-साना योजनाहरु बाढेर हुन्छ ? मन्त्री, मुख्यमन्त्री, नेता बनेकोमा घमण्ड छ। जनताको काम एकातिर, नेकपाको सरकार अर्को तिर छ। नेकपा सरकार भ्रष्टाचारै भ्रष्टाचारमा व्यस्त छ। जनताको नाममा भ्रष्टाचार गरिरहेको छ। विकासको नाममा देशलाइ लुटिरहेको छ। ’

त्यस्तै नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेको छन। उनले भ्रष्टाचारी, बलात्कारी र दलालीहरुको संरक्षणमा लागेको आरोप लगाउदै प्रधानमन्त्री ओलीकाे राजीनामा मागेका हुन्।

कांग्रेसका नेता मोतिराज बमले मुलुक भ्रष्टाचारमा लिप्त भएको दाबी गरे। उनले दुई तिहाई नजिकको सरकार भ्रष्टचारमा पनि दुई तिहाई देखाएको आरोप लगाए। उनले भने, ‘नेकपा सरकारले नैतिकता गुमाइसकेको छ। नेकपाका अध्यक्ष, वरिष्ठ नेताहरुले नै ओली सरकारमाथि नैतिक प्रश्न खडा गरिसकेको अवस्था छ।  शासन गर्ने अनुसान गुमाएको सरकारले पदमा रहिरहन आवश्यक छैन।’

कार्यक्रममा हिक्मत बिष्ट, मुक्तिप्रसाद न्यौपाने, टेकराज शाही, संकरप्रसाद उपाध्याय, दमन शाही, अम्बबहादुर शाही, मीनबहादुर बोगटी, मनराज शाही, लक्ष्मी शाही, नन्दबहादुर शाही, निलो तिरुवा, महिला संघका अध्यक्ष भद्रा शाहीलगायतका नेताहरुले प्रधानमन्त्री ओलीले नैतिक्ता गुमाइसकेको जिकिर गरेका छन्।