सरकारले कांग्रेसको दवाव थेग्न सकेन, अन्तत:रामचन्द्र पौडेल रिहा



काठमाडौँ। निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको छ।

ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा बुधबार उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको हाे। पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो।

कांग्रेस तनहुँले सरकारको विरुद्ध प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो। रिहा भएपछि वरिष्ठ नेता पौडेलले दमौलीस्थित नेपाली कांग्रेस जिल्ला समितिको कार्यालयमा पुगेर सम्बोधन गरेका थिए।

नेता पौडेलले ओली सरकारले सुनियोजित ढंगले आफूलाई पक्राउ गरेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘यो सरकार फासिजमतिर जान लागेकै हो। केपी ओली कहिल्यै पनि बहुदलका लागि लडेको मान्छे होइन। बीपीको आन्दोलनलाई पनि ओलीले सहयोग गरेको होइन।’

उनले प्रधानमन्त्री केपी ओली गणतन्त्रको लागि कुनै योगदान नगरेको व्यक्ति भएको समेत आरोप लगाए। उनले भने, ‘यो परिवर्तनमा केपी ओलीको कुनै हात छैन। तस्करहरुलाई बोकेर पैसाका बलमा केपी ओली नेतृत्वले बहुमत ल्यायो। अहिले यिनैका इसारामा यो काम भइरहेको छ। यो लोकतन्त्रमाथि प्रहार हो, यसको प्रतिवाद देशैभरि हुन्छ।’