देउवाले ओलीलाई भने, ‘रामचन्द्रलाई रिहा गर्ने कि उत्पन्न परिस्थितिको सामाना गर्ने?’



काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी नेकपा सरकारको सर्वसत्तावादको उन्माद भएको टिप्पणी गरेका छन्।

बुधबार गृहजिल्ला तनहुँबाट नेता पौडेललाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस आक्रमक बनेको छ। उक्त घटनालाई लिएर सभापति देउवाले नेता पौडेलमाथिको गिरफ्तारी आपत्तिजनक एवं निन्दनीय रहेको भन्दै सरकारको यसखालको प्रवृत्तिविरुद्ध देशब्यापी प्रतिरोध गरिने बताए।

देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता पौडेलमाथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ।’

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’

देउवाले केपी ओली सरकारले सर्वसत्तावादको संकेत देखिन थालिएको टिप्पणी गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।