राष्ट्रपति भण्डारी र नेता गौतमबीच भेटवार्ता



काठमाडौँ। राष्ट्पति विद्यादेवी भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच शितलनिवासमा भेटवार्ता भएको छ।

मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्पति भेट्न शितलनिवास पुगेका थिए। शितलनिवासमा गौतम र राष्ट्रपति भण्डारीबीच आधा घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले पुष्टि गरेका छन्।

गौतम निकट स्रोतकाअनुसार भेटमा राष्ट्रपति भण्डारीले नेकपामा आएको विवादका बारेमा चासो राखेकी थिइन् । त्यसक्रममा उनले गौतमलाई पार्टी एकता भंग हुन लागेको भन्दै समन्वयकारी भूमिका खेल्न र पार्टी एकता जोगाउन आग्रह गरेकी थिइन्।

‘तपाईले विगतमा पनि पार्टी अप्ठ्यारोमा परेका बेला महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। अहिले पनि अवस्था जटिल छ’, राष्ट्पति भण्डारीले गौतमसँग गरेको सम्वादलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो पटक पनि तपार्इको भूमिका आवश्यक छ। त्यसका लागि तपाईले भूमिका निर्वाह गर्नुपर्यो।’

रातोपाटीका अनुसार जवाफमा गौतमले आफु जहिल्यै पार्टी एकताको पक्षमा रहेको भन्दै आफुले निर्वाह गर्ने भूमिका गर्न तयार रहेको बताएका थिए। ‘म सँधै एकताकै पक्षमा हो । अहिले पनि एकता टुट्नु हुँदैन भन्दै आएको छु’ गौतमले राष्ट्पतिलाई आश्वस्त पारेका थिए।

पछिल्लो केही दिनयता नेकपाभित्र अन्तरविरोध चर्किएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले पार्टी बैठकका निर्णय नमानेको भन्दै इतरपक्षबाट असन्तुष्टि जनाइरहेका बेला गत शनिबार ओलीले बरु पार्टी अलग गरौं भन्ने प्रस्ताव अघि सारेका थिए। ओलीको यस्तो प्रस्ताव सार्वजनिक भएपछि ओली आफै पार्टी विभाजन गर्न लागेको आशंका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गर्दै आएका छन्। प्रचण्डसँगको सम्वादमा ओलीले बैठक नराख्ने र पार्टी निर्णय पनि नमान्ने चेतावनी दिएपछि विवाद चर्कन पुगेको थियो।

यही विवादका कारण पछिल्लो समय ओली र प्रचण्डबीच भेटवार्ता समेत हुन छाडेको छ। यही क्रममा विभिन्न तहका नेताहरु पार्टी विभाजन रोक्न लागि परेका छन्। तर, ओली र प्रचण्ड समूह टसको मस बनेका छैनन्। ओली प्रचण्डसँग कुरा गरेर विवाद मिलाउनुपर्ने पक्षमा छन् भने प्रचण्ड एक्लाएक्लै वार्ता गर्दा समाधान ननिस्किएकाले सचिवालय बैठकमै विवादका विषयको छिनोफानो गर्नुपर्छ भन्ने मान्यतामा छन्।