पार्टी एकीकरणमा नेतृत्व असफल, अवस्था झन् गन्जगोल



काठमाडौँ । असोज महिनाभित्र पार्टी एकताका सबै काम सक्ने घोषणालाई पूरा गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व फेरि पनि असफल भएको छ । यसले नेता कार्यकर्तालाई नेतृत्वप्रतिको विश्वास र प्रतिबद्धतामाथि पुनः प्रश्न उठाउने बाटो खुला गरिदिएको छ ।

‘केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता– एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने’, गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका १५ वटा निर्णयमध्ये ४ नम्बर बुँदामा लेखिएको छ, ‘केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीय तहका कमिटीहरु, जनवर्गीय सङ्गठहरु र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने ।’

यो निर्णयअनुसार नेकपाले काम गरेको भए असोज ३० गते शुक्रबारभित्र एकताका सबै काम सम्पन्न भएको घोषणा गरिक्नुपर्ने थियो । तर यो घोषणा त परै जाओस् तोकिएको एक महिनामा यति काम भयो भनेरसमेत नेताहरुले भन्न सक्ने अवस्था छैन । एकताबारे कुनै प्रगति नहुँदा असोज महिना बित्दासमेत भदौ २६ को अवस्थाभन्दा कुनै भिन्नता पार्टीमा देखिँदैन । पार्टीमा सङ्कट आएपछि गठित कार्यदलको सुझावअनुसार स्थायी समितिले गरेको निर्णयको बुँदामा भनिएको छ, ‘विवादका कारणले अवरुद्ध हुन पुगेको एकीकरण प्रक्रियालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय लिने । एकीकरणका सन्दर्भमा केन्द्रीय तहबाट गर्नैपर्ने काम केन्द्रीय सचिवालयले गर्ने र अन्य कामका लागि सम्बद्ध निकाय वा मातहत कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने ।’ रातोपाटीबाट साभार।