पश्चिमी भू-भागमा तीन दिनसम्म भारी वर्षाकाे सम्भावना



सुर्खेत। नेपालको पश्चिम भूभागका केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले सतर्क रहनसमेत अनुरोध गरेको छ। विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ। २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ।

शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेशमा शनिबारभारी वर्षाको सम्भावना छैन।

मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो। पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुनेछ।

यस्तै गोरखाको बारपाक, आरूघाट, विरेनचोक लगायत धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ। दरौदी र बुढीगण्डकी नदीहरुमा जलसतह बढ्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनिएको छ।