२० जना भारतीय सैनिकहरुको मृत्युबारे चीनले मुख खोल्यो



काठमाडौँ। भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ। पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ।

भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ। १५÷१६ जूनको राती यहाँ दुई देशका सैनिकबीच झडप भएको थियो। झडप र गतिरोध भएको इलाकामा ड्युटीका क्रममा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए।

शून्य डिग्रीभन्दा पनि मुनिको तापक्रम र अत्यधिक उचाई भएको यो इलाकामा गम्भीर रुपमा घाइते यी १७ सैनिकको मृत्यु भयो। यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेना देशको अखण्डता र सम्प्रभुताको रक्षाका लागि प्रतिबद्ध छ।

यसअघि भारतीय सेनाले आफ्नो बयानमा एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बताएको थियो। बयानमा दुई देशका वरिष्ठ सैन्य अधिकारी तनाव कम गर्नका लागि छलफल गरिरहेको बताइएको थियो।

यता, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले पिपल्स लिबरेशन आर्मी (पिएलए) को पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग शुइलीको बयान पिएलएको आधिकारिक बिबो अकाउन्टमा पोस्ट गरिएको जानकारी दिएको छ। उक्त बयानमा चांगले भारतले निकै कडा रुपमा आफ्नो सैनिक रोक्नुपर्ने र विवाद समाधानका लागि संवादको सही बाटोमा अघि बढ्नुपर्ने बताएका छन्।

चांगले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो बचन उल्लंघन गरेको छ र एकपटक पुनः एलएसी पार गरेका छन्। जानीजानी चिनियाँ बललाई उक्साए र उनीहरुमाथि हमला गरे। जसका कारण दुबै पक्षमा आमने–सामने झडप भयो र यसैकारण हताहतको स्थिती बन्यो। भारत आफ्नो सैनिकलाई रोक्न कडा निर्देशन लागू गरोस् र कुराकानीमार्फत् विवाद सुल्झाओस् भन्ने माग गर्छु।’ यसअघि भारत–चीन सीमामा सन् १९७५ मा अर्थात् ४५ वर्षअघि कुनै सैनिकको मृत्यु भएको थियो।