‘सीमानामा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गरियोस्’



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका निःवर्तमान अध्यक्ष तथा लोकप्रिय गायक बद्री पंगेनीले सीमानामा अलपत्र परेका मजदुरहरुको उद्धार गर्न सरकारसँग माग गरेका छन्।

हप्तौ हिडेर भारतका विभिन्न स्थानबाट नेपाली मजदुरहरु मातृभूमि फर्किन महाकाली सीमानामा आएर रोकिएपछि चौतर्फि उनीहरुको उद्धारका आवाज उठ्न थालेका छन्। यसै क्रममा बुधबार गायक पंगेनीले पनि सीमानामा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका हुन्।

उनले बुधबार समाजिक सञ्जालमा लेखेका छन्, ‘जनता कोरोनाले भन्दा पहिले भोक र प्यासले मर्नु राम्रो हुँदै होइन सरकार। भारतको विभिन्न ठाउँबाट आएर सिमानामा अलपत्र नेपाली जनताको तुरुन्त उद्दार गरियोस्।’

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस र लकडाउनको अवस्थालाई दृष्टिगत गर्दै सरकारले सीमासम्म आएका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। सीमा प्रवेश नपाएका नेपालीहरुले सरकारप्रति आक्रोशित हुँदै नारा बाजी गरिरहेका छन्। कोही रुदै भारत तर्फ फर्किएका छन्।